एकल महिलाको कथामा ‘बगान’

फिल्म ‘बगान’ को प्रदर्शन मिति तय गरिएको छ । यसको लिरिकल गीत र टिजर सार्वजनिक गर्दै फागुन १२ लाई प्रदर्शन तय गरिएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘उडी छुनु छ आकाश’ बोलको मर्मस्पर्शी लिरिकल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतले एकल महिलाले समाजबाट भोग्ने पीडा, सन्तानप्रतिको अगाध प्रेम र एक्लोपनको कथा बोलेको छ ।

सुरेश वाग्लेको शब्द रचना र हरी लम्सालको संगीत रहेको गीतमा गायिका बानिका प्रधानको स्वर सुन्न सकिन्छ । गीतमा अभिनेत्री करिश्मा मानन्धर र नव-कलाकार प्रमिल कार्की आमा-छोरीको रुपमा प्रस्तुत छन् । यो गीतले फिल्ममा करिश्मा एकल महिलाको भूमिकामा रहेको स्पष्ट बुझाउँछ ।

निर्देशक खनालले फिल्मको माध्यमबाट एकल महिलाको कथालाई बाहिर ल्याएको बताए । ‘यदि अल्पआयूमै श्रीमातीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन विताउन जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरुलाई हुँदैन ? अब विधूर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ ।’

सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा करिश्मा र प्रमिलका साथै नीर शाह, सरोज खनाल, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको मुख्य भूमिका छ भने अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी र उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्