कस्तो हुँदैछ ‘जारी २’ को छायांकन ?

फिल्म । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको फिल्म ‘जारी २’ को छायांकन पाँचथरमा तीव्र गतिमा भइरहेको छ । गएको वैशाख २९ गते शुभमुहूर्त गरिएको यो फिल्मको छायांकन विगत ११ दिनदेखि पाँचथरको माछिल्लो बेल्टमा चलिरहेको छ । निर्माण टिमका अनुसार, अबको करिब २० दिनमा छायांकन सम्पन्न हुनेछ । सम्पूर्ण छायांकन पाँचथरका विभिन्न पर्यटकीय गन्तव्यमा हुने बताइएको छ ।

‘जारी २’ ब्लकबस्टर फिल्म ‘जारी’ को सिक्वेल हो । यसको फर्स्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ, जसमा अभिनेता दयाहाङ राई च्याब्रुङ बजाउँदै गरेको देखिएका छन् । फिल्मको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ र यो दशैँमा प्रदर्शन हुने घोषणा गरिएको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखन र निर्देशन गरेको यो फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा रामबाबु गुरुङले निर्माण गर्दैछन् । उपेन्द्रको डेब्यू निर्देशन ‘जारी’ ले नेपाली बक्स अफिसमा १७ करोडभन्दा माथिको व्यापार गरेको थियो । निर्देशक सुब्बाले सिक्वेलको कथा पहिलो ‘जारी’ सकिएकै स्थानबाट सुरू हुने बताएका छन् । उनका अनुसार सात वर्षपछिको समयलाई फिल्ममा देखाइने छ ।

‘जारी २’ मा दयाहाङ राई, विजय बराल र मिरुना मगरको मुख्य भूमिका रहनेछ। यस्तै, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सृजना निङ्लेखुको पनि अभिनय रहेको छ । पाँचथरको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई समेट्ने यो फिल्मले दर्शकमाझ ठूलो अपेक्षा जगाएको छ । दसैँमा प्रदर्शन हुने ‘जारी २’ ले पहिलो भागको सफलतालाई कायम राख्ने विश्वास निर्माण टिमले लिएको छ ।

कमेन्ट गर्नुहोस्