फिल्म । चर्चित ‘कालो हरिण शिकार’ प्रकरणमा भारतीय अभिनेता सलमान खानको समस्या अझै टरिने संकेत देखिएको छैन, बरु यो मुद्दा थप बल्झिने देखिएको छ । यस प्रकरणमा सफाइ पाइसकेका भनिएका अभिनेता सैफअली खान तथा अभिनेत्रीहरू नीलम, तब्बु र सोनाली बेन्द्रेको पनि समस्या बढ्ने देखिएको छ ।
गत शुक्रबार राजस्थान उच्च अदालतमा कालो हरिण शिकार मामिलामा ‘लिभ-टु–अपील’ मा सुनुवाइ भएको थियो । उक्त सुनुवाइमा अभिनेता सैफअली खान, अभिनेत्री तब्बु, नीलम र सोनाली बेन्द्रेलाई तल्लो अदालतले दिएको सफाइको फैसलालाई चुनौती दिइएको छ । न्यायाधीश मनोजकुमार गर्गको इजलासले यस मुद्दासहित अन्य सम्बन्धित मुद्दाहरूलाई एकमुष्ट सूची बनाउन आदेश दिएको छ ।
यो मुद्दा अधिवक्ता महिपाल बिश्नोईले सन् १९९८ अक्टोबर १ मा फिल्म ‘हम साथ साथ हैं’ को छायांकनका क्रममा जोधपुरको कानकनी गाउँमा कालो हरिणको शिकार भएको भन्दै दर्ता गराएका थिए । यस मामिलामा ‘ट्रायल कोर्ट’ ले ५ अप्रिल २०१८ मा सलमान खानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो ।
तर, सोही मुद्दामा सह-आरोपी बनाइएका सैफ अली खान, नीलम, तब्बु, सोनाली बेन्द्रे र स्थानीय दुष्यन्त सिंहलाई भने शंकाको लाभ दिँदै सफाइ दिइएको थियो । त्यसपछि सलमान खानले ट्रायल कोर्टको उक्त फैसलालाई चुनौती दिँदै उच्च अदालतमा अपील गरेका थिए र पछि जमानतमा रिहा भएका थिए । उता, राजस्थान सरकारले सलमान खानलाई दिइएको जमानत र अन्य कलाकारहरूलाई दिइएको सफाइको विरुद्ध उच्च अदालतमा अपील गरेको थियो ।
अधिवक्ता महिपाल बिश्नोईले राज्य सरकारको अपीलमा स्थानान्तरण याचिकाको अनुमति र अभिनेता सलमान खानको सजायको विषय पनि समावेश गरिने जानकारी दिएका छन् । बिश्नोईका अनुसार, सलमान खानले पछि आफ्नो याचिका उच्च अदालतमा हस्तान्तरण गर्न अनुरोध गरेका थिए, तर अहिले दुवै मुद्दाहरू एउटै मुद्दाको हिस्सा बन्न पुगेका छन् । उच्च अदालतले सरुवा गर्न अनुमति दिएको भए तापनि त्यसयता मुद्दामा खासै प्रगति हुन सकेको थिएन ।









