‘रत्यौली’ मा नेपाली संस्कृति

फिल्म । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अंगका रूपमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भएर यो फिल्मको नाम राखिएको हो । यो फिल्म सांस्कृतिक चेतनाले भरिएको हुने अनुमान गरिएको छ ।

रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो फिल्मबाट उनी निर्माताका रूपमा डेब्यु गर्दैछन् । २०६२/६३ देखि म्युजिक भिडियोमा मोडलका रूपमा सक्रिय रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन् । ‘नाई नभन्नु ३’ र ‘समभर लभ’ जस्ता सफल फिल्म निर्देशन गरेका मुस्कान ढकाल यो फिल्मका निर्देशक हुन् ।

सम्भावना बोकेका युवा निर्देशक ढकालले यसपटक सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म निर्देशन गर्न लागेका छन् । नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानी रहनेछ। फिल्मको छायांकन आगामी तिहारपछि सुरु हुनेछ ।

आज शुक्रवार, साउन १६ गते निर्माण टिमले फिल्मको टाइटल सार्वजनिक गरेको हो । हाल कलाकार छनोट र प्राविधिक तयारी भइरहेको निर्माण टिमले जनाएको छ । निर्देशक मुस्कान ढकालका अनुसार हाल फिल्मको लोकेशन र कलाकार छनोटको काम भइरहेको छ । फिल्मले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्