फिल्म । अमेरिकामा रहेर पनि नेपाली कलाका विभिन्न पाटोमा सक्रिय रहेका निर्देशक सुमन दाहालको निर्देशनमा लघु फिल्म ‘शंका’ निर्माण गरिएको छ । ईन्टरनेटमा रिलीज गरिएको यस फिल्ममा श्रीमान श्रीमती बिचमा हुने शंकाले कस्तोसम्म अवस्था निम्ताउँछ भन्ने देखाइएको छ । ‘हामीले पारिवारिक समस्याको बिषयलाई उठाएर शिक्षा र चेतना फैलाउन मद्दत गर्ने लघु फिल्म बनाएका छौ’ दाहालले भने ।
यसको छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र आसपासमा गरिएको छ । चुडामणी अवस्थी, सविता चैलागाइ केसी, बिष्णु डुम्रे , भुवन लोहनी, सन्दिप अर्याल लगायतले ‘शंका’मा अभिनय गरेका छन् । यसमा चुडामणी अवस्थीको कथा रहेको छ । अमेरिका नै रहने अक्की शर्माले यसको छायांकन गरेका छन् । फिल्मको पोष्ट प्रोडक्शनको काम भने नेपालमा नै भएको छ । यसमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर ग्रेडिंग, मुकेश शाहको साउण्ड मिक्सिंग तथा एलिस कार्कीको पार्श्र्व संगीत रहेको छ । यसमा सुदन डोटेल र सरोज प्याकुरेलले शब टाइटल गरेका छन् ।











