फिल्म । विविध कारणले प्रदर्शन मिति सर्दै फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अन्ततः कात्तिक २१ गतेबाट दर्शकमाझ आउने भएको छ । फिल्मका मुख्य कलाकार कामेश्वर चौरासियाले सामाजिक सञ्जालमा फिल्मका समाचार, पोस्टर र लिंक सेयर गर्दै ‘व्यग्र प्रतीक्षा’ लेखिरहेका छन् । पब्लिसिटी भइसकेको फिल्मको रिलिज मिति बारम्बार सर्दा उनलाई प्रतीक्षा गर्न कठिन भएको आभाष उनका लेखाइले दिएका छन् । किनकि उनी यस फिल्ममा मुख्य भूमिकामा छन् । यसका लागि उनले झन्डै १७ वर्ष प्रतीक्षा गरेका छन् ।
‘मैले सायद यही क्षणको प्रतीक्षा गरेको थिएँ । मैले यो अवसरका लागि धेरै मेहनत गरेको छु । मधेसको कथामा आधारित फिल्म भएकाले म निर्माण पक्षको रोजाइमा प रेँ। यो मेरो सङ्घर्षको फल पाउने बेला हो । मैले पात्रलाई जीवन्त बनाउन सक्दो कोसिस गरेको छु’, अभिनेता चौरसियाले भने । बाल्यकालदेखि फिल्मप्रति रुचि राख्ने चौरसिया ठूलो पर्दामा देखिने सपनासहित काठमाडौं आएका थिए । तर, अभाव र बेरोजगारीको सामना गर्नुपर्यो ।
अभिनेता चौरसियाले काठमाडौंसँगै भारतको दिल्लीमा पुगेर अभिनय सिक्ने र फिल्ममा काम गर्ने प्रयास गरे। उनको अभिनय यात्रा ‘एक्टर्स स्टुडियो’ बाट सुरु भयो । विसं २०७२ मा प्रदर्शित फिल्म ‘रेशम फिलिली’ मा ‘हरिया’ को भूमिकाले उनको चर्चा भयो । तर, भूकम्पका कारण फिल्मको प्रदर्शन प्रभावित भयो र उनले अपेक्षित चर्चा पाउन सकेनन् ।
‘त्यसपछि अन्य फिल्ममा सहायक भूमिकाका प्रस्ताव आए । तर, म मुख्य अभिनेता बन्न चाहन्थें । केही प्रस्ताव अस्वीकार गरेपछि मलाई कामै नआउने अवस्था भयो’, उनले भने । केही समय अभिनय छाडेर माछा बेच्ने व्यवसाय गरेका चौरसियालाई कोरोना महामारीले त्यसमा पनि असफल बनायो ।
पाँच वर्षपछि ‘रेशम फिलिली’ मार्फत अभिनयमा फर्किएका चौरसियालाई निर्माता विनोद पौडेलले ‘अभिमन्यु : च्याप्टर १’ को कथा सुनाउन बोलाए । मधेस र सीमावर्ती क्षेत्रको कथाले आकर्षित गरेका उनलाई मुख्य अभिनेताको प्रस्तावले अक्क न बक्क बनायो । ‘मैले जसका लागि यति मेहनत गरेको थिएँ, त्यो पाउँदा शब्दमा व्यक्त गर्न सकिनँ । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ’, उनले भने।
‘अभिमन्यु : च्याप्टर १’ मा चौरसियाले परिवारको सुरक्षा र जिम्मेवारी बहन गर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्ममा कामेश्वरसँगै रहेका अन्य कलाकार किरण श्रेष्ठ, लक्ष्मी बर्देवाले पनि आफ्नो उत्साह सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् । ‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा एकसाथ प्रदर्शन हुँदैछ ।
सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फिल्मको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशक छन् । मुकेश खनालको लेखन रहेको यो फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।
रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन् । जीवन शाक्य लाइन प्रोड्युसर छन् । शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ ।












