फिल्म । नेपाली फिल्म ‘झिङ्गेदाउ २’ प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ । पहिलो श्रृङ्खलाले बक्स अफिसमा दर्शकको निकै राम्रो साथ पाएकाले दोस्रो भागलाई लिएर कलाकार तथा निर्माण टिम उच्च उत्साहित देखिन्छन् । अभिनेत्री आँचल शर्माले पनि ‘झिङ्गेदाउ २’ पहिलो भागको तुलनामा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ बढी समृद्ध बनेको दाबी गरेकी छन् ।
आँचलका अनुसार पहिलो भागलाई दर्शकले अत्यधिक मन पराइसकेकाले दोस्रो भाग निर्माण गर्दा टिममाथि स्वाभाविक रूपमा अपेक्षाको दबाब थियो । पहिलो भागले बनाएको बेन्चमार्क पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने चुनौती रहे तापनि यसपटक पनि दर्शकलाई निराश नबनाउने र सफल हुनेमा उनी विश्वस्त छिन्।
‘पहिलो भागको तुलनामा यसपटक सबै कुरा दोब्बर थपिएको छ जस्तो लाग्छ। मनोरञ्जन पनि डबल छ, रमाइलो पनि डबल छ र सन्देश पनि उत्तिकै सशक्त छ’, आँचलले भनिन् ।
आँचलका लागि ‘झिङ्गेदाउ’ केवल एउटा फिल्म मात्र नभएर उनको अभिनय यात्राकै एक महत्त्वपूर्ण मोड हो । यस फिल्ममा काम गर्नुअघि निर्देशक ज्ञानेन्द्र देउजाको फिल्मी पृष्ठभूमिबारे आफू धेरै परिचित नभए पनि कथा (स्क्रिप्ट) सुनेपछि र निर्देशकको कामप्रतिको समर्पण देखेर फिल्ममा जोडिएको उनले बताइन्।
विशेष कुरा त के भने, ‘झिङ्गेदाउ’ भन्दा अघि उनले निर्वाह गर्दै आएका भूमिकाभन्दा यो पात्र बिल्कुलै फरक र गाउँले परिवेशको थियो । त्यसैले सुरुमा निर्देशकले आफूलाई नै किन छनोट गरे भन्नेमा उनी आफैँ अचम्मित परेकी थिइन्।
‘सुरुमा उहाँहरूले मलाई नै किन रोज्नुभएको होला, यसको कुनै तुक नै छैन जस्तो लागेको थियो। साँचो भन्नुपर्दा पहिले गर्दिनँ भनेर पछि मात्र सम्झौता गरिएको फिल्म हो यो’, उनले विगत सम्झिँदै भनिन्, ‘तर निर्देशक देउजाको कामप्रतिको समर्पण र उहाँका पुराना फिल्मबारे बुझेपछि केही नयाँ सिक्ने उद्देश्यले काम गरेँ। जुन फिल्मबाट मैले ठूलो अपेक्षा गरेकी थिइनँ, त्यही फिल्म नै मेरो जीवनभर सम्झनलायक काममध्येको एक बन्यो।’
पहिलो र दोस्रो भाग निर्माणबीच करिब छ वर्षको समय अन्तर रहेको छ। यो छ वर्षको अवधिले फिल्मको कथा र पात्रमा मात्र नभई कलाकारका रूपमा आफ्नो व्यक्तिगत परिपक्वतामा समेत ठूलो प्रभाव पारेको आँचलको अनुभव छ।
‘छ वर्षपछि दोस्रो भाग आइरहँदा पात्रमा पनि स्वाभाविक परिमार्जन आएको छ। यो बिचमा म स्वयं (आँचल शर्मा) पनि परिपक्व भएँ, धेरै कुरा सिक्ने मौका पाएँ’, उनी भन्छिन् । समयसँगै आफूमा आएको यही परिपक्वताका कारण यसपटक पात्रलाई विभिन्न कोणबाट बुझ्न र अझ राम्रोसँग न्याय गर्न सहज भएको उनको भनाइ छ ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजा फिल्मका लगानीकर्ता हुन् भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता रहेका छन्। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
फिल्ममा आँचलसँगै केकी अधिकारी, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ।









