यस्तो बन्यो ‘आ बाट आमा २’को फस्टलुक

फिल्म । हरितालिका तीजको अवसर पारेर आगामी असोज ३० मा प्रदर्शन हुने फिल्म ‘आ बाट आमा २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। ‘चर्किएको यो घरले फेरि सोध्यो… यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?’ स्लोगनसहित सार्वजनिक गरिएको ‘आ बाट आमा २’को फस्टलुक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।

पोस्टरमा रहेका फुटेका सिसा र पुराना तस्बिरले भत्किएको परिवार तथा छिन्नभिन्न भएका सम्झनालाई संकेत गर्छन्। पोस्टरको एउटा तस्बिरमा प्रदीप रावत र विपना थापा एकअर्कालाई अँगालो हालेर रोइरहेका छन् । उनीहरूमाथि उडिरहेको हवाइजहाजको तस्बिरले रोजगारीका लागि घर छाड्न बाध्य नेपाली युवाको कथा संकेत गर्छ। अर्कोतर्फ पल शाह र साइग्रेस पोखरेलका तस्बिरले परिवारसँग बिताएका विगतका खुसीका क्षणलाई सम्झाउँछन्।

पोस्टरको अर्को दृश्यमा पल शाह र साइग्रेस पोखरेल निधारमा रातो टीका र जमरा लगाएर बसेका छन्, जबकि उनीहरूकी आमाको निधारमा टीका र जमरा छैन। उनले दुवैलाई अँगालो हालेर रोइरहेकी छन्। उनको अनुहारमा चाडपर्वको उत्साहभन्दा थकान, पीडा र विवशता झल्किन्छ।

पोस्टरमा दशैँको माहोलमा गाउँलेहरू लिङ्गे पिङमा रमाइरहेको दृश्य पनि समेटिएको छ। जहाँ विपना थापा पिङ खेलिरहेकी छन् भने पल शाहले उनलाई पिङ हल्लाइरहेका छन्। पछाडि प्रदीप रावत मधुर मुस्कानमा देखिन्छन्। आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट र निकिता आचार्य पनि पिङ आसपास मुस्कुराइरहेका छन्।

त्यस्तै, अर्को दृश्यमा चाडपर्वको समयमा विपना थापा र साइग्रेस खुसी मुद्रामा देखिन्छन् भने प्रदीप र पल भने केही भावुक देखिएका छन्। पोस्टरको अर्को भागमा पल शाह आमा–बुबासँग रमाइरहेको ब्ल्याक एन्ड ह्वाइट तस्बिरसँगै रिस्ता गुरुङको कलरफुल तस्बिर राखिएको छ।

फस्टलुकको सबैभन्दा माथि राखिएको स्लोगनले फिल्मको मूल कथ्यतर्फ संकेत गर्छ—“चर्किएको यो घरले फेरि सोध्यो… ‘यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?’” घरका भित्ता र सिसा मात्र होइन, सन्तानको बाटो हेर्दाहेर्दै आमाको मन पनि चर्किएको भाव पोस्टरले प्रस्तुत गरेको छ।

चाडपर्वका बेला रित्तिँदै गएका नेपाली गाउँघर, परदेशिएका सन्तान र उनीहरूको पर्खाइमा जीवन बिताइरहेका आमाहरूको कारुणिक कथालाई फिल्मले पर्दामा ल्याउन खोजेको देखिन्छ।

फिल्ममा पल शाह, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका रहनेछ। सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

अघिल्लो वर्षको सफल फिल्म ‘आ बाट आमा’को सिक्वेलका रूपमा निर्माण भएको ‘आ बाट आमा २’लाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। कथा तथा पटकथा पनि पन्तकै हो। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म आगामी असोज ३० गते, फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मले लिएको छ भने डिजिटल अधिकार ओएसआरसँग रहेको छ।

कमेन्ट गर्नुहोस्