फिल्म । दिनेश राउतको निर्देशनमा तयार हुने फिल्म ‘प्रकाश’ को अभिनेत्रीमा रेनु योगी फाइनल भएकी छिन् । अभिनेता प्रदीप खड्काको अभिनय रहने फिल्ममा उनको जोडी बनेर रेनुप्रस्तुत हुनेछिन् । फागुन दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा निर्माण टिमले मुख्य अभिनेत्रीसँगै अन्य कलाकार अडिसनमार्फत छानेको हो । अभिनेता अनुप बरालले फिल्मको कास्टिङ गरेका थिए ।
लामो समयदेखि थिएटरका काम गर्दै आइरहेकी रेनुले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नाटकमा काम गरेकी थिइन् । त्यसबाहेक उनले दर्जन हाराहारी नाटक र लघु फिल्ममा काम गरेकी छिन् । फिल्ममा शिक्षक बन्न चाहाने एक युवाको संघर्ष कथा देखाइने छ ।
फिल्मको जुम्लामा ४५ दिन लगाएर सुटिङ हुने निर्माण टिमले जनाएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । फिल्मको पटकथा विकास सुवेदीले लेखेका हुन् ।