सङ्गीत । धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौं रमेर’ सार्वजनिक गरिएको छ । अभिनेत्री मिथिला शर्मासहितका कलाकारहरूद्वारा अभिनित उक्त गीतको भिडिओ सार्वजनिक गर्नु हुँदै अभिनेत्री वसुन्धरा भुसालले गीतले दिएको सकारात्मक संदेशको प्रशंसा गरिन् ।
उनले भनिन्,‘उमेर बढिरहेको छ भनेर हामीले चिन्ता मान्नु पर्दैन । बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न सके बढ्दो उमेरको सुन्दरता तर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ ।’ उनले गीतले दिएको संदेशसँगै गायक लक्ष्मी भुजेल महर्जनको आट र अभिनेत्री मिथिला शर्माको साथको तारिफ गरिन् । ‘बाल्यकालदेखि नै आफ्नो गायनको सपना रहेता पनि परिवारलाई समय दिएर आफ्नो इच्छालाई मार्नुभएकी गायिका लक्ष्मीलाई परिवारले साथ दिएर ढिलै भएपनि गायनमा ल्याउनु भयो । अर्को तर्फ गायिकाको आटलाई थप हौसला दिने काम अभिनेत्री मिथिलाले भिडिओमा अभिनय गरेर गरेकी छिन् । यस्तो कार्यक्रममा आउन पाउँदा खुसी लाग्छ’, अभिनेत्री भुसालले भनिन् ।
उनले गायिका लक्ष्मीलाई दोसल्लाह ओढाएर गायन क्षेत्रमा स्वागत गरिन् । अभिनेत्री मिथिला शर्माले लक्ष्मीको सपनाको एउटा हिस्सा बन्न पाउँदा खुसी लागेको बताइन । ‘मलाई भिडिओमा काम गर्ने अफर आउँदा म गायिका लक्ष्मीको परिवार प्रतिको त्याग र अहिले परिवारकै साथका कारण गायिका बनेको सुन्दा प्रभावित भएँ । हामी कलाकारितामा लाग्नेले परिवारको साथ नभई आफ्नो उदेश्यमा सफलता पाउन सक्दैनौँ । लक्ष्मीजी ढिलै भएपनि गायनमा आउनुभएको छ, अब निरन्तरता दिनुहुनेछ भन्ने आश छ’, अभिनेत्री शर्माले भनिन् ।
गायिका लक्ष्मीले बाल्यकालदेखि नै गायनमा रूची भएता पनि पारिवारिक दायित्वका कारण निरन्तरता दिन नसकेको बताइन । ‘मैले परिवारलाई समय दिएँ, किनकी त्यो समयमा मेरो त्यही दायित्व थियो । अहिले परिवारको साथले मैले आफ्नो सपना पुरा गरेकी छु । आफ्नो सपनामा इमान्दार भएर लाग्यो भने त्यसले पूर्णता पाउँछ भन्ने सुनेकी थिएँ, आज आफैँमा त्यो यथार्थ बन्यो’, गायिका महर्जनले भनिन् ।
उनले आफ्नो दिदी सुशीला भुजेलले रचना गरेको शब्दलाई स्वर खोज्दै सङ्गीतकार कहाँ पुगेको स्मरण गरिन् । ‘मैले डमी गाएकी थिएँ, हामी अर्कै स्वर खोजिरहेका थियौँ । सङ्गीतकारले मेरो स्वरमै सुहाउँछ भनेपछि मैले गएकी हुँ । यो सुरुआत हो, मैले पहिलो पाइला टेकेकी छु’, गायिका महर्जनले भनिन् ।
उक्त गीतमा शिव शाहीको कर्णप्रिय सङ्गीत रहेको छ । सार्वजनिक भिडियोमा अभिनेत्री शर्मासँगै कृष्ण भक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्र मान जोशी, न्युछे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सबिना महर्जन, उर्मिला जोशी, श्रीजना मानन्धर, लीला कट्टेल, जिभिसन मान जोशी, बीना जोशी, नीरज अंशु प्रधान, चन्द्र मान श्रेष्ठ, रमेश श्रेष्ठ, राहुल थापा लगायतले अभिनय गरेका छन् । निर्देशक रवि सायमीको निर्देशनमा तयार भएको उक्त भिडिओमा भवानी शिलाकारले छायांकन, प्रिया कार्कीले शृंगार र निर्देशक स्वयम् सायमीले सम्पादन गरेका छन् ।










