फिल्म । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक गरिएको छ । आँचल शर्माको जन्मदिनको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजर आँचलले वाचन गरेको ‘पोम्पोईको फूल’ शीर्षकको कवितामा आधारित छ । उक्त कवितासँगै टिजरले फिल्मका मुख्य कलाकारहरूलाई परिचित गराएको छ। निर्माण टिमले यसलाई आँचलको जन्मदिनको विशेष उपहारका रूपमा प्रस्तुत गरेको जनाएको छ।
उक्त कविता फिल्मकी लेखक तथा निर्देशक सहारा शर्माको सम्झनामा आधारित रहेको बताइएको छ । सहाराका अनुसार उनले बाल्यकालमा आफ्नी हजुरआमाबाट यस्तै भावको कविता सुन्ने गर्थिन्, जुन समयसँगै बिर्सिँदै गएकी थिइन्। तर फिल्मको सम्पादनका क्रममा उक्त कविता पुनः स्मृतिमा फर्किएको उनले बताइन्।
‘फिल्मलाई सबैभन्दा आवश्यक परेको समयमा यो कविता फर्कियो, त्यसपछि यो फिल्मको अभिन्न अङ्ग बन्यो’, उनले भनिन् । अभिनेत्री आँचल शर्माले यो फिल्म आफ्ना लागि विशेष रहेको बताएकी छिन् ।
‘अरु फिल्ममा म कुनै पात्र निर्वाह गरिरहेको हुन्छु, तर यसमा ‘माइली’ पात्रमा म आफैंलाई देखेकी छु। आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनु ठूलो सन्तुष्टि हो’, उनले भनिन् । फिल्ममा आँचलसँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेलको समेत सहभागिता रहेको छ ।
प्राविधिक पक्षतर्फ लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा डिजाइन र कीर्ति जोशीको मेकअप रहेको छ । फिल्ममा मर्णा जेम्स प्रमुख सहायक निर्देशक रहेकी छन् भने उनलाई शर्मिला आले र मीरा खड्काले सहयोग गरेका छन् ।
महिलाको नेतृत्वमा निर्माण गरिएको यो फिल्म गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त प्रस्तुति हो । फिल्मको नेपाल वितरण आरआर फिल्म्सले गर्नेछ ।










