‘निराश बनाउँदिन’

21 Shares

फिल्म । फिल्मनगरीमा यतिबेला नयाँ पुस्ताको रुपमा अंकित शर्मा भित्रिदै छन् । उनि आफ्नै पिता अशोक शर्माको निर्देशनमा तयार हुने फिल्म ‘रातो टिका निधारमा’ मार्फत हिरोको रुपमा डेब्यु गर्दैछन् । तर , अंकितले डेब्युको लागि निकै मेहनत गरेको उनका पिता तथा पुराना फिल्मकर्मी अशोक शर्माले बताए । ‘अंकितलाई मैले डेब्यु त गराउछु तर दर्शकले एसेप्ट पनि गर्नु पर्छ नि , त्यसैले डेब्यु लायक भएपछी मात्र फिल्ममा ल्याउँदै छु’ उनले भने ‘अंकितमा फिल्मी ब्लड त छ नै साथै उसले लिएको शिक्षाले थप मदत गर्नेछ ।’

उनलाई अशोकले फिल्मी शैलीमै मिडियासामु ल्याए । पर्दामा अंकित आइरहेको देखाइन्छ , अनि लाइट बन्द हुँदा उनि सबैको अगाडी हुन्छन् । ‘मलाइ गर्नु भएको विश्वासलाई घट्न दिन्न साथै ब्यानरको साख पनि जोगाउने भरपुर कोसिस गर्छु’ अंकितले भने ‘मैले टिम राम्रो पाएको छु , अपेक्षा अनुसार प्रस्तुत हुन्छु भन्ने लाग्या छ ।’ अंकितले फिल्ममा डेब्युकै लागि शारीरिक रुपमा समेत परिवर्तन गरेका छन् । उनि घोषणा समारोहमा फिट देखिएका छन् । अशोककै निर्देशनमा तयार फिल्म’अल्लारे’ मा समावेश लोकप्रिय गीत रातो टिका निधारमाबाट शब्द सापटी लिदै नाम जुराइएको हो ।

फिल्ममा अंकितको अपोजिटमा एक्ट्रेस साम्राज्ञी आरएल शाह रहनेछिन् । किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ ।

पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । यही जेठ १० गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्म ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस फिल्ममा रि-एरेञ्ज गरिएको छ । फिल्मको छायांकन नै गीतबाट सुरु हुने जानकारी समेत गराइयो । गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका छन् भने यसलाई पहिलेकै संगीतकार शम्भुजित बास्कोटाले तयार पारेका हुन् । यसमा शम्भुजितसँगै कल्याण सिंहको संगीत रहने छ ।

बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments