फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको सातौँ सातामा प्रवेश गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । अन्तर्राष्ट्रियबजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।
अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले डायस्पोरामा फिल्मको खडेरी हटाउन सफल भएको जनाएका छन् । उक्त कम्पनिका अनुसार सिड्नीमा यो सातामा पनि शो राखिएको छ । ३७ शो सिड्नीमा मात्र भएको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।