साउनमा ‘पानीफोटो’

फिल्म । अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’ आउँदो वर्षको साउन ३० मा प्रदर्शनमा आउने भएको छ । यस वर्ष छायाँकन सकिएको फिल्मको पोष्ट प्रोडक्सनमा हतार नगरेर रिलिज मिति तय गरिको खगेन्द्रले बताए । ‘हाम्रो काम सकाएर हामी फिल्म प्रदर्शनका लागि उक्त समयमा तयार हुन्छौ’ खगेन्द्रले भने । निर्माण कम्पनी टुकी आर्ट्स प्रा.लि र मञ्जुश्री फिल्म प्रोडक्सन संयुक्त निर्माणमा तयार फिल्म दशक अगाडिको चर्चित नाटक ‘पानीफोटो’ मा आधारीत रहेर निर्माण भएको हो । यो नाटकको लेखन र निर्देशन पनि खगेन्द्र स्वयमले गरेका थिए ।

काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा छायांकन भएको फिल्ममा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको संयुक्त लगानी छ । फिल्म ‘पानीफोटो’ मा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ ।

पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पखाईमा बसेका बुबा-आमाको कथामा फिल्म आधारित छ । पुष्पा संगमको पाश्र्व संगीत रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने यसको सम्पादक निमेष श्रेष्ठहुन् ।

कमेन्ट गर्नुहोस्