
फिल्म । अभिनेता अनमोल केसीको शिर्ष भूमिका रहने फिल्म ‘जेरीः अन टप’को छायांकन भदौको ३ गतेबाट सुरु हुँदैछ । भारतको लद्दाखमा लोकेशन हेरेर नेपाल फर्किएपछि छायांकन तय गरिएको निर्माता सरोज न्यौपानेले जानकारी दिएका छन् ।
फिल्मका निर्माता न्यौपाने, निर्देशक सुयोग गुरुङ र नायक अनमोल केसी केही दिन लद्दाकमा बसेर लोकेशन हेरेर फर्किएका हुन् । निर्माता न्यौपानेका अनुसार, लद्दाकमा फिल्मको अन्तिम चरणको छायांकन हुनेछ । केही दृश्य र गीत लद्दाकमा खिचिने छ ।
फिल्मको छायांकन भने नेपालबाटै सुरु हुनेछ । फिल्ममा अनमोलसँग नायिकाद्धय आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहनेछ । लद्दाखमा हिमाली दृश्यलाई खिच्ने तयारी निर्माण पक्षले गरेको हो । फिल्मको नाम र सार्वजनिक गरिएको फस्टलुकले यसको छायांकन हिमाली भेगमा हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । फिल्ममा ‘जेरी’ को पात्रमा देखिने अनमोल हिमाल प्रेमी हुने सङ्केत सार्वजनिक फस्टलुकले गरिसकेको छ ।
कास्ट संरचनाले फिल्म त्रिकोणात्मक प्रेमकथामा रहने देखिएको छ । किनकि निर्माण पक्षले यी तीन कलाकारलाई नै प्रचारप्रसारमा प्रयोग गरेको छ । फिल्मलाई फागुनको २ गतेबाट रिलिज गर्ने घोषणा समेत यसको निर्माणपक्षले गरिसकेको छ ।
