टिकटक आयुष ‘राम नाम सत्य’ बाट फिल्ममा आउँदै

फिल्म । टिकटकबाट चर्चामा आएका कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरी फिल्ममा देखिने भएका छन् । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ बाट उनले अभिनयमा डेब्यू गर्दैछन् । हालै निर्माण पक्ष र आयुषबीच कागजी सम्झौता सम्पन्न भएको छ ।

फिल्म साइन गरेपछि आयुषले भने, ‘मलाई धेरै फिल्मका प्रस्ताव आएका थिए, तर ‘राम नाम सत्य’ को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएँ । कथा र मेरो भूमिका निकै प्रभावशाली छ, त्यसैले यो फिल्म रोजेँ ।’

उनले केही महिनादेखि फिल्मका लागि तयारी गरिरहेका छन् । निर्देशक चन्दले भने, ‘आयुषसँग सहकार्यको सम्झौतापछि हामीले उनलाई एक्सन तालिम दिइरहेका छौं । अब उनले अभिनय कोर्स पनि सुरु गर्नेछन् । उनको मिहिनेतले हामी उत्साहित छौं ।’

‘राम नाम सत्य’ एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित फिल्म हो, जसको छायांकन साउन २९ गतेदेखि चितवन, काठमाडौं लगायतका स्थानमा सुरु हुनेछ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्न लागेको यो फिल्मका निर्माता उपेन्द्र शाही र स्वेता विमली छन् भने किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह-निर्माता छन् ।

फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी र रवि गिरी लगायतका कलाकार छन् । एक नायिकाको चयन बाँकी रहेको र छिट्टै लाइनअप पूरा हुने निर्माण पक्षले जनाएको छ । संजय लामाको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, तेज विक्रम केसीको हेड अफ प्रोडक्सन र नविन जंग शाहको प्रोडक्सन कन्ट्रोलरको जिम्मेवारी रहेको छ ।

कमेन्ट गर्नुहोस्