‘कोहिनुर’ श्रीकृष्ण

फिल्म । नेपाली फिल्मनगरीमा मिलनसार अभिनेतासंगै निर्माताको रुपमा परिचित श्रीकृष्ण श्रेष्ठले यो संसार छाडेको आज ६ वर्ष पुरा भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन दिल्लीको गंगाराम अस्पतालमा उपचारको क्रममा भएको थियो । स्वर्गीय श्रेष्ठको निधन बोन क्यान्सरबाट भएको थियो । अभिनेत्री श्वेता खड्कासँग विवाह गरेर हनिमुनका लागि सिमला पुगेका श्रीकृष्ण विरामी भएपछी अस्पताल भर्ना भएका थिए । साउन २४ गते प्रदर्शन भएको फिल्म ‘कोहिनुर’ को पहिलो शोमा सहभागी हुने भनिएता पनि फिल्म रिलिजको तेस्रो दिन उनले संसारबाट बिदा लिएको खबर दर्शक माँझ आयो ।

श्रीकृष्णको जन्म वि.सं २०२७ साल पौष १४ गते भएको थियो । उनले अभिनय गरेका ‘आफन्त, आफ्नो मान्छे, सुख दुःख, ए मेरो हजुर, हामी तिन भाई, कहाँ भेटिएला, कोहिनुर’ लगायतका फिल्महरु बक्स अफिसमा हिट मानिन्छन् । वि.सं २०४५ सालमा ‘भूमरी’ फिल्म मार्फत नेपाली रजतपटमा भित्रिएका स्वर्गीय अभिनेता श्रेष्ठले ‘नाता’मार्फत करिअर अगाडि बढाएका थिए ।

श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता फिल्मले दर्शक मार्फत अत्याधिक माया पाएका थिए । भने , उनको अन्तिम कोसेली कोहिनुरले नेपाली फिल्मको व्यवसायमा रेकर्ड नै राख्न सफल भएको थियो । ०७१ साल असार २३ गते नायिका स्वेता खड्कासँग बिहे गरेका श्रीकृष्णले एक महिनामै यो संसार त्यागेका थिए । उनले अन्तिम समयमा नेपाली दर्शकलाई एउटा अडियो मार्फत सम्बोधन गरेका थिए । त्यो नै उनको अन्तिम सम्बोधन बन्न पुगेको थियो ।

नेपाली दर्शकको लागि ‘कोहिनुर’ छाडेर गएका श्रीकृष्ण आफ्नो काम मार्फत दर्शकको मनमा जिउदै छन् । नृत्य तथा अभिनयमा बुलन्द श्रीकृष्ण नेपाली फिल्मनगरीमा गाउँलेसंगै सहरिया दर्शकको पनि उत्तिकै प्रिय थिए । उनको भौतिक शरीर नभएता पनि उनका कृति र अभिनयको छाप दर्शकको मनमै ताजै छ । नेपाली दर्शकका लागि ‘कोहिनुर’ छाडेर गएका श्रीकृष्ण नेपाली फिल्मनगरीका पनि कोहिनुर नै थिए ।

स्केचः सुन्दर श्रेष्ठ
कमेन्ट गर्नुहोस्