फिल्म । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनमा आधारित फिल्म ‘अञ्जिला’ नेपाल अगाडि विदेशी दर्शकए हेर्न पाउने भएका छन् । कप्तान सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित फिल्मको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा हुने निर्देशक मिलन चाम्सले जानकारी दिए ।
उनले भने,‘फिल्म बन्नु ठूलो कुरा होइन, तर खेलाडीको जीवनीलाई पर्दामा ल्याउने आट गर्ने निर्मातालाई नमन छ । उहाँहरूले कप्तान सुब्बाको जीवनी सुनाएपछि म फिल्म निर्देशन गर्न सहमत भएको हुँ । साथै यसको व्यापारबाट आएको रकम कप्तान सुब्बाको घर निर्माणमा खर्चिने सुनेर झनै म हर्षित भएँ । साथै, हाम्रो हङकङको शो सोल्ड आउट भईसकेको छ ।’
उनले हङकङपछि फिल्म जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा प्रिमियर गरिने बताए । निर्देशक चाम्स र कप्तान सुब्बा प्रिमियरमा सहभागी हुनेछन् ।
फिल्ममा अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।