रोकियो ‘नीरफुल’

फिल्म । कोरोना भाइरसका संक्रमण बढेसँगै पछिल्लो समय त्रास फैलिदो छ । पछिल्लो समय विश्वव्यापी रुपमा फिल्म सार्ने तयारी बढ्दो छ । कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ८० भन्दा बढी देशमा फैलिएपछि यतिबेला सबैतीर त्रास बढ्दो छ । यसैलाई मध्यनजर गर्दै आउँदो फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ सरिसकेको छ ।

पछिल्लो समय हलमा रिलिज भएका फिल्ममा दर्शक सोच अनुरुप आएका छैनन् । यसैले गर्दा पनि फिल्म रिलिज गर्ने तयारीमा रहेका फिल्मको प्रदर्शन रोकिने क्रम बढ्दो छ । यसैक्रममा थपिएको छ ,’नीरफुल’ । निर्माण टिमले एक प्रेस विज्ञप्ति जारी गर्दै दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै र परिस्थितिको मुल्यांकन गदै फिल्म सारिएको बताएको छ । ‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै नेपाल सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि ‘नीरफूल’ को सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ निर्देशक फूलमान वलले भने । उनले विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको बताएका छन् । ‘हामी छिटै नयाँ मिती घोषणा गर्छौ तर यतिबेला भने स्थगित गरेका छौ’ निर्देशक वलले थपे ।

रङ्ग पत्रकार वल निर्देशित फिल्म ‘नीरफूल’ मा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन् ।

कमेन्ट गर्नुहोस्