फिल्म । सन्दीप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी आरएल शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ को डान्सिङ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जोश छ जवानीको’ बोलको गीतमा यी तीनै बोल्ड अवतारमा प्रस्तुत छन् । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । ‘गीतमा मैले सम्पूर्ण कलाकारलाई चाहे अनुरुप प्रस्तुत गरेको छु । यो गीतको भिडियो पूर्णतया मेरो कल्पनामा आधारित छ’, निर्देशक लामिछानेले भने । फिल्मलाई भने निर्माताबाट निर्देशक बनेका रमेश एमके पौडेलले निर्देशन गरेका छन् । ‘म छायांकनस्थलमा गएर नै सम्पूर्ण स्टेप सिक्दै गरेकी थिएँ । गीतलाई भिडियोमा हामीले न्याय गर्ने कोशिस गरेका छौँ’, साम्राज्ञीले भनिन् । गीतमा देखिएका सन्दीपले आफ्नो नृत्य कम्जोर रहेको बताए ।’मलाई नाच्न आउदैन तर मैले सक्ने स्टेप दिएर पर्दामा राम्रो देखाइएको छ । हामीले आफ्नो तर्फबाट सक्ने मेहनत गरेका छौँ’, सन्दीपले भने ।
पुष्पले साम्राज्ञीको तारिफ गरे । ‘उनी बोल्ड मात्र नभई नृत्य र अभिनयमा पनि उत्तिकै पारंगत छिन् । उनले नृत्य गरेको मेहनत स्पष्ट देखिएको छ’, अभिनेता पुष्पले भने । योगेश काजी शाह र सारिका घिमिरेको स्वर रहेको गीतमा निर्देशक पौडेलकै शब्द रचना र गायक शाहको संगीत छ । फिल्ममा खड्क बहादुर पुन, इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय रहेको छ । फिल्मको यसअघि ‘रुमाल बाटेर टाई बनाम्’ बोलको डान्सिङ गीत सार्वजनिक भईसकेको छ ।
फिल्ममा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित यस फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा/संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन, योगेशसँगै सुभाष भुषालको संगीत छ ।











