फिल्म । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ को दोस्रो गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।
मर्मस्पर्शी भावमा तयार गरिएको गीतको भिडियोमा कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाबीचको प्रेम, बिछोड र त्यसपछिको भावनात्मक अवस्थालाई चित्रण गरिएको छ। भिडियोमा प्रेमिकासँग छुट्टिएपछि श्रीकृष्ण निरौला मानसिक रूपमा विचलित बनेको देखिन्छ। उनी जहाँ गए पनि आफ्नो प्रेमिकाको सम्झनामा हराइरहेको दृश्य प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा हराएका श्रीकृष्णलाई खोज्दै मुकुन भुसाल र जानुका विश्वकर्मा हिँडिरहेको दृश्य पनि समेटिएको छ। गायक थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्द, सन्तोष बिसीको संगीत तथा नारायण दंगालको संगीत संयोजन रहेको छ।
यसअघि सार्वजनिक गरिएको फिल्मको पहिलो गीत ‘दिलको मोटर’ सामाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा चर्चित बनेको छ। फिल्मको ट्रेलरले पनि दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ। दोस्रो गीतले पनि दर्शकको साथ पाउने अपेक्षा गरिएको छ।
राजबहादुर साने निर्देशित फिल्मले प्रेम सम्बन्धमा आउने उतारचढाव, संघर्ष र भावनात्मक यात्रालाई प्रस्तुत गरेको निर्देशक सानेले बताएका छन्।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।
फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछ।










