‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ ले नेपालमा कति कमायो ?

फिल्म । ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा पहिलो साता आक्रामक व्यापार गर्न सफल भएको छ । विश्वव्यापी नै आक्रामक कमाइ गरिरेहेको मार्भलको यो फिल्मले नेपालभर पहिलो सातामा १२ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ को २ लाख ९० हजार ७९ टिकट बिक्री भएका छन् । गत जुलाई ३० मा नेपालमा प्रदर्शन भएको उक्त फिल्मले सोही अवधिमा फिल्मले नेपालबाट ११ करोड ५९ लाख ८७ हजार ९ सय ३५ रुपैयाँको ग्रस कमाइ गर्न सफल भएको छ ।

मार्भल सिनेमेटिक युनिभर्स र सोनी पिक्चर्सद्वारा निर्मित ‘स्पाइडर-म्यान’ को चौथो श्रृङ्खलामा अभिनेता टम हल्यान्ड पुनः पिटर पार्कर अर्थात् स्पाइडर-म्यानको भूमिकामा छन्। सन् २०२१ मा रिलिज भएको अत्यधिक सफल फिल्म ‘नो वे होम’ पछि पिटर पार्करको कथा कहाँबाट अघि बढ्छ भन्नेमा विश्वभरका फ्यानहरू उत्सुक थिए।

यस नयाँ फिल्मको शीर्षक मार्भल कमिक्सको चर्चित कथा ‘ब्रान्ड न्यू डे’ बाट प्रभावित रहेको छ । ‘नो वे होम’ को अन्त्यमा पिटर पार्करलाई संसारभरका सबैले बिर्सिसकेकाले, यस पटकको कथामा पिटरले आफ्नो पहिचान लुकाएर एक साधारण युवाका रूपमा जीवन र सुपरहिरोको दायित्व कसरी अघि बढाउँछन् भन्ने देखाउन खोजिएको छ ।

डेस्टिन ड्यानियल क्रेटनले निर्देशन गरेको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ स्टान ली र स्टिभ डिट्कोको कमिक बुकमा आधारित छ भने यसको पटकथा क्रिस म्याककेना र एरिक सोमर्सले लेखेका हुन् । फिल्ममा टम हल्यान्ड, जेन्डाया, सेडी सिंक, ज्याकोब बाटालोन, जोन बर्नथल, ट्रामेल टिलम्यान, माइकल म्यान्डो र मार्क रफालोले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्