फिल्म । सन् २०१४ मा बनेको फिल्म ‘एक भिलेन’ को दोस्रो सिरिज बन्ने भएको छ । फिल्मको नयाँ सिरिजमा नयाँ कलाकारहरु हुने भएका छन् । पहिलो सिरिजमा सिद्धार्थ मलहोत्रा , श्रद्धा कपूर र रितेश देशमुख थिए । यी तिनैको कामसँगै फिल्मलाई दर्शकले रुचाएका थिए । गीतसंगीतले दर्शकलाई हलसम्म आकर्षित गरेको थियो भने दर्शक फिल्ममा कन्भिन्स भए ।
यसको दोस्रो सिरिजलाई मोहित सुरीले नै निर्देशन गर्नेछन् । ‘एक भिलेन २’ नाम राखिएको फिल्ममा जोन अब्राहम र आदित्य रोय कपूरको अभिनय रहनेछ । यसलाई भुषण कुमार र एकता कपूरले संयुक्त रुपमा निर्माण गर्नेछन् । ‘केहि दिन अगाडी मोहितले जोन र आदित्यलाई कन्सेप्ट शेयर गरेका छन् र उनीहरुले मन पनि पराएका छन्’ फिल्मका एक सदस्यले भारतीय मिडियालाई जानकारी दिए । जोन र आदित्यसँगै एक्ट्रेसमा दिशा पटानी र तारा सुतारिया देखिने भएका छन् । निर्माण पक्षले यी चारै जनालाई फिल्मको लागि साइन गरेको खबर भारतीय मिडियामा छ । निर्देशक मोहित अघिल्लो सिरिज झैँ फिल्मलाई हिट बनाउन निकै मेहनत गरिरहेका छन् । उनले स्टोरीसँगै यसको स्टारकास्टमा पनि उस्तै मेहनत गरेको बताएका छन् । ‘हामी कथा , स्टारकास्टसँगै गीतसंगीतमा उत्तिकै मेहनत गरिरहेका छौ’ उनले भने ,’हामीले दर्शकको अपेक्षा बुझेका छौ भने हामी एक भिलने भन्दा माथी जान चाहन्छौ ।’ फिल्मको छायाँकन सेड्युल यहि वर्षको भए पनि यसलाई दर्शकले आउँदो वर्ष सन् २०२१ को जनवरीमा हेर्न पाउने छन् । (एजेन्सी)












