फिल्म । विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित फिल्म ‘कमला मिस’ ले बक्सअफिसमा कम्जोर सुरुआत गरेको छ । बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, मायापछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले जीवनमा भोग्नुपरेका संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको बताउने उक्त फिल्मले पहिलो दिन नेपालभरबाट ६० हजार रुपैयाँको मात्र ग्रस कलेक्सन गर्न सफल भएको छ ।
पछिल्लो समय एक दिनमा नेपाली फिल्मले २ करोड हाराहारीमा ग्रस कलेक्सन गरिरहेको खबरका बीच ‘कमला मिस’ को ग्रस कलेक्सन एक लाख पुग्न पनि मुस्किल देखिएको छ । वरिष्ठ कलाकार निर शाहको निर्देशनमा बनेको ‘कमला मिस’लाई हेर्न दर्शकले कुनै चासो नदेखाएको प्राप्त बक्सअफिस कलेक्सनले देखाएको छ ।
फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ।










