फिल्म । रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको कार्यक्रमहरु ‘रजतपट र ग्ल्यामर गफ’ विवादस्पद भएपछी अनिश्चितकालका लागि स्थगित गरेको हो । प्राय विवादमा आइरहने सुवेदीले पछिल्लो समय ‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेलको बिषयमा रिपोर्ट प्रशारण गरेका थिए ।
अदालतमा रहेको निर्माता छविराज ओझासँगको मुद्दामा एकलौटी हिसाबले रिपोर्ट प्रशारण गरेको र आफ्नो चरित्रहत्या गरेको आरोप सहित नायिका पोखरेलले सम्बन्धित निकायमा उजुरी दिएकी थिइन् । शिल्पाको उजुरी परेपछि एपीवान बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता बाहेक उनीसँग सम्बन्धित अरु कुनै पनि रिपोर्ट प्रशारण नगर्न सुवेदीलाई पत्र काटेको श्रोतको भनाइ छ ।
यद्दपी , प्रकाशले अर्को कार्यक्रम ‘ग्ल्यामर गफ’मा निर्माता छविराज ओझाको अन्तरवार्ता लिएर प्रशारण गरेका थिए । पत्रकार सुवेदीले शिलशिला बद्ध रुपमा नै आफ्नो चरित्रहत्याको प्रयास गरेको उजुरी पुनः शिल्पाले दिएपछि एपीवानको बोर्ड बैठकले उजुरीको आधारमा सुवेदीले संचालन गर्दै आएको दुबै कार्यक्रम प्रशारण अनिश्चितकालका लागि स्थगित गरेको हो ।
बोर्ड बैठककै निर्णय नमानेको देखिएपछी एपीवानले सुवेदीलाई हाललाई कार्यक्रम प्रशारण नगर्न पत्र काटेको हो । यद्दपी सुवेदीले भने आफूसँग असारसम्म कार्यक्रम प्रशारण गर्ने संझौता भएको भन्दै कार्यक्रम बन्द नहने प्रतिक्रिया दिएका छन् ।











