फिल्म । अभिनेता धिरज मगरले अफर आएर भूमिका चित्त बुझ्दो भएमा एन्टागोनिस्ट बन्न तयार रहेको बताएका छन् । फिल्म ‘बाबरी’ को प्रचारप्रसारमा व्यस्त धिरजले आफ्नो अभिनय क्षमतालाई दर्शकसमक्ष पूर्ण रुपमा प्रस्तुत गर्न नकारात्मक भूमिका (भिलेन) निर्वाह गर्ने रहर बताए । ‘मलाई सस्पेन्स र थ्रीलर चलचित मन पर्छ । त्यसैले पनि भिलेन बन्दा अझैँ कलाकारिता प्रस्तुत गर्न सक्छु जस्तो लाग्छ । मलाई सुहाउँदो अफर आयो भने म भिलेन बनेर प्रस्तुत हुन् तयार छु’ उहाँले भन्नुभयो ।
पहिलो चलचित्र व्यावसायिक रुपमा सफल भएपछि उहाँ सर्वाधिक खोजिने अभिनेतामा पर्ने धिरज भन्छन् , ‘मलाई व्यक्तिगत रुपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो चलचित्र हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारको रुपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु।’
केही समय यता उनी आफूलाई कलाकार बन्न आएको प्रतिक्रिया दिईरहेका छन् । सौन्दर्यको क्रेज भन्दा पनि अभिनय क्षमता बढाएर दर्शकसँग नजिक हुने चाहना धिरजको छ । पपुलर अभिनेतामा पर्ने अनमोल केसी , प्रदीप खड्का पनि स्टारडमको छायाँबाट बाहिर निस्किने चलचित्रमा काम गरिरहेका छन् । प्रदीप अभिनित ‘प्रकाश’ प्रदर्शन भईसकेको छ भने अनमोलले ‘छड्के २’ मा अभिनय गरिरहनु भएको छ । पछिल्लो समय देखिएको यसकिसिमको परिवर्तनलाई धिरज सकारात्मक रुपमा लिनुहुन्छ । ‘हामी भित्र बढेको चलचित्रको चेतनाले यस किसिमको परिवर्तन देखिएको हो । आफ्नो अनुहार मात्र नभई अभिनय देखाउनु पर्छ भन्ने चेतना बढ्नु सुखद हो’ अभिनेता मगरले भन्नुभयो ।
डेब्यु चलचित्रमा सफ्ट प्रेमीको चरित्र निर्वाह गरेका धिरज ‘बाबरी’ पूर्ण रुपमा परिवर्तन भएकाछन् । प्रचारप्रसार सामाग्री सार्वजनिक हुँदा दर्शक मात्र नभई चलचित्रकर्मीलाई समेत उनको स्वर होइन कि भन्ने लागेको थियो । ‘सानो राजा साहेब’ को रुपमा उहाँ फरक देखिनु भएको छ । यो चरित्रमा पुर्व युवराज पारस शाह ज्युबाट पनि केही प्रभावित रहेको धिरजले बताए ।’बाहिरी हाउभाउ जस्तै बोल्ने , हिड्ने शैली मिल्न सक्छ । सम्पन्न ठकुरी परिवारको छोराको भूमिकामा रहेकोले कास्टिङ निर्देशककै सल्लाहमा केही प्रभावित भएको हुँ । साथै छायांकन हुनु केही दिन अगाडी म पुर्व पुगेर त्यहाँको जीवनशैलीलाई नियाले । स्थानीय युवालाई हेरेरनै चरित्रलाई पूर्णरुपमा तयार गरेको हुँ’ धिरजले भने ।
विज्ञानको चरित्रले सबैलाई थर्काउँने , अलि होच्याउने स्वभाव गर्ने भएकाले रुखो सुनिएको धिरजको प्रतिक्रिया छ । प्रेमीकै चरित्रमा प्रस्ताव आइरहेता पनि उहाँ सुन्दरता भन्दा पनि अभिनयको चर्चा होस् भन्ने चाहन्छन् । ‘म फरक गर्ने प्रयाशमा छु । किनकी एउटा अभिनेतामा लुक्ससँगै राम्रो अभिनय चाहिन्छ । म दुवैलाई हुने अभिनेता बन्न चाहन्छु’ उनले भने । असोज १४ मा प्रदर्शन हुने ‘बाबरी’ मा धिरजसँगै अदिति बुढाथोकी , धिरज नाडकर मुख्य भूमिकामा हुनहुन्छ । उहाँहरुको त्रिकोणात्मक प्रेम कथा चलचित्रमा देखाईएको छ । यसको छायांकन नेपालसँगै सिक्किममा गरिएको छ ।