फिल्म । बिहीबार साँझ धरानमा भव्य साङ्गीतिक कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । आगामी शुक्रवार रिलिज हुने फिल्म ‘ऊनको स्वीटर’ को प्रचारप्रसारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रङ्गशालामा आयोजित सो कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रह्यो । सो कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरानसम्मको २०० कि.मि. बाटोमा मोटरसाइकल र्यालीमार्फत दर्शकहरू आएका थिए भने अन्य गाउँ गाउँहरूदेखि समेत दर्शकहरू आएका थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । फिल्मका कलाकारहरू विपिन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ, गायिका तथा सङ्गीतकार झुमा लिम्बू र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत तथा सम्मान गरे ।
सुजन चापागाईँ र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले ‘लजाएर एक्लै किन, ‘तिमी बिना तिमी हुनु’, ‘फूलथुङ्गे रानी’, ‘आँसुको भारी’, ‘गाला पुक्क’, ‘तीनपाते’, ‘मखमली’ लगायतका चर्चित गीतहरू प्रस्तुत गरे । गायिका झुमा लिम्बूसँगको ‘काफ्ले’ गीतले दर्शकहरूलाई विशेष रूपमा आकर्षित गर्यो ।
यस कार्यक्रममार्फत सङ्कलित मुनाफा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने फिल्मका निर्देशक नवीन चौहानले बताए । यसअघि पोखरा र काठमाडौंमा पनि ‘ऊनको स्वीटर’ साँझको आयोजना गरिएको थियो ।
निर्देशक चौहानको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ । यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता साङ्गीतिक चलचित्रहरू निर्देशन गरेका चौहानले यस चलचित्रको लेखन पनि गरेका हुन् । चलचित्रको छायाङ्कन पाँचथर र नेपाल-भारत सिमाना फालेलुङमा गरिएको हो ।
आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको यस फिल्ममा प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायत कलाकारहरूको अभिनय रहेको छ । सङ्गीततर्फ, सुजन चापागाईँ र झुमा लिम्बुले सङ्गीत निर्देशन गरेका छन् । यसका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ गीतहरू तथा हालै सार्वजनिक ट्रेलर सामाजिक सञ्जालमा लोकप्रिय भएका छन् ।











