फिल्म । गत साउन १ गतेदेखि प्रदर्शनरत फिल्म ‘गौँथली’ का निर्देशक डा. कपिल रिजालले फिल्मका महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा सार्वजनिक नगर्न दर्शकसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै उनले साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मलाई दर्शकले दिएको माया, साथ र हौसलाप्रति आभार व्यक्त गरेका छन् । प्रदर्शनपछि आफू र फिल्मको सम्पूर्ण टिम विभिन्न सिनेमाघरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिइरहेको उनले उल्लेख गरेका छन् ।
निर्देशक रिजालले पछिल्ला दिनमा फिल्मका दृश्यहरू फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेको भन्दै यसले अन्य दर्शकको उत्सुकता घटाउनुका साथै फिल्म र निर्माण पक्षको लगानीमा समेत प्रत्यक्ष असर पर्ने बताएका छन् ।
‘सामाजिक सञ्जालमा फिल्महरू भेटिदा यसले व्यावसायिक, सृजनात्मकसँगै कलात्मक क्षति पनि गरिरहेको छ । फिल्म हेर्न आउने दर्शकले अगाडि नै दृश्य थाहाँ पाउँदा त्यसले राम्रो गर्दैन, त्यसैले हामीले भिडिओ खिच्ने विरुद्ध कानुनीरुपमा अगाडि बढिसकेका छौँ’, निर्देशक रिजालले भने ।
उनले त्यस्ता गतिविधि नगर्न दर्शकसँग विनम्र अनुरोध गरेका छन् । यस विषयमा कानुनी प्रक्रिया पनि अघि बढाइसकिएको जानकारी दिँदै उनले फिल्मका दृश्य खिचेर सार्वजनिक नगर्न सबै दर्शकसँग आग्रह गरेका छन् ।
‘गौँथली’ ले बक्सअफिसमा दमदार सुरुआत गरेको छ । मनसुनी वर्षाको समेत पर्वाह नगरी दर्शक हलसम्म पुगेपछि फिल्मले पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको हो । देशभरका सिनेमाघरमा दर्शकको चाप बढेपछि विभिन्न मल्टिप्लेक्स तथा मोफसलका हलहरूले शो संख्या थपेका छन् ।
फिल्मका वितरक करण श्रेष्ठका अनुसार प्राप्त सकारात्मक प्रतिक्रिया र दर्शकको बढ्दो मागका कारण हल सञ्चालकहरूले अतिरिक्त शो थपेका हुन् । उनका अनुसार फिल्म प्रदर्शन भएको दोस्रो दिनदेखि नै शो संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।









