फिल्म । शनिवार एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘कुले दाइ’ ले चर्चा पाउदै गर्दा निर्माण पक्षले फिल्मको टिजरपछी दोस्रो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत ‘केहि आधा’ मा सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । अघिल्लो गीत कुले दाइमा पनि सुमी र सन्नी देखिएका थिए भने टिजरमा दर्शकले सुमीको एक्सनलाई देखेको थियो । सार्वजनिक गरिएको गीतमा पुष्पन प्रधानको शब्द , संगीत र स्वर रहेको छ ।
गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् भने यसमा कोरियोग्राफी र छायाँकन पनि निर्देशक हरी हुमागाईंकै रहेको छ । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । गीतलाइ उनले फिल्मकै कथाअनुसार तयार गरेका छन् । गीतलाई १४ दिन लगाएर नेपालको हरेक प्रदेशमा छायाँकन गरिएको छ । गीतलाई बन्दीपुर , पोखरा , धम्पुस , मुस्ताङ , लुम्बिनी , सौराहा , जनकपुरमा छायाँकन गरिएको हो । गीतले नेपाल सरकारको अभियान भिजिट २०२० लाइ पनि सपोर्ट गर्ने विश्वास फिल्म युनिटको रहेको छ ।
‘गीतलाई हाम्रो कथाअनुसार नै अगाडी बढाउने लक्ष्य सहित योजना बनायौ र यसले नेपाल सरकारको अभियान भिजिट २०२० मा पनि सहयोग पुग्ने किसिमले तयार गर्यौ’ हरीले भने । गीतको कोरियोग्राफर पनि उनी हुन् । गीतमा हिमाल , पहाड र तराइ देखाइएको छ । नेपालको पर्यटकीय र धार्मिक स्थलको दृश्यलाई गीतमा समेटिएको छ ।
‘हामीलाई गाह्रो पनि भएको थियो किनकी समय सिमित थियो अनि स्थान धेरै’ हरी भन्छन् ‘गीतलाई राम्रो बनाउन गरिएको प्रयत्न यतिबेला सार्थक भए जस्तो लाग्छ ।’ उनि गीतलाई हेरेर आयो प्रतिक्रियाले उत्साहित छन् । फिल्ममा सुमी र सन्नीसँगै लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । विजय , युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ ।
सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ ।
यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।