फिल्म । आउँदो वर्ष अर्थात् २०७९ को वैशाख १६ बाट प्रदर्शनमा आउने फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक भएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित फिल्मका कलाकारहरु सौगात मल्ल , बुद्धि तामाङ लगायतको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । खिल बहादुर गुरुङ निर्देशन रहेको फिल्ममा डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको समेत निर्माणमा सहकार्य रहेको छ ।
हिमाली भेगको प्रेम कथा भनिएको फिल्ममा दीया पुन पनि मुख्य भूमिकामा छिन् । फिल्म सौगात , दीया र बुद्धिकै सेरोफेरोमा घुमेको छ । ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमाल सुन्दरता कैद गर्दै गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरुमा छायांकन गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै फिल्म ‘मन्त्र’ का लिड कलाकार सौगात मल्लले यो आफ्नो लागि खास रहेको बताए ।
‘मलाइ हिमाल मन पर्छ । तराईमा जन्मिएता पनि कागबेनी फिल्मका लागि हिमाल पुगेपछि साइनो गासिएको छ । फिल्मको कथा र मेरो पात्र खास छ’ सौगातले भने । बुद्धिले पनि फिल्मले दर्शकलाई निराश नबनाउने प्रतिक्रिया दिए । ‘फिल्ममा दर्शकले मनोरञ्जन पाउनु हुनेछ । हलसम्म आएपछि निराश बनाउदैन्’ उनले भने । फिल्मकी अर्की कलाकार दीया सगरमाथा आरोहनको तयारी गरिरहेको हुँदा कार्यक्रममा अनुपस्थित थिइन् ।
गोरखाको मनास्लु क्षेत्र आसपासको कथालाई फिल्म बनाएका निर्देशक खिल बहादुरले दर्शक हलसम्म आए नेपालको सुन्दरता र सुन्दर कथा हेर्न पाउने बताए । ‘फिल्मले आँखालाई मात्र होइन कथाले मनलाई पनि शितलता दिन्छ’ निर्देशक गुरुङले भने । संजय लामाको छायांकन रहेको फिल्ममा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह-निर्देशन रहेको फिल्ममा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन् । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।











