फिल्म । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले आज फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। फिल्म आगामी चैत २७ गते, नयाँ वर्षको बिदालाई लक्षित गर्दै रिलिज हुनेछ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको यस फिल्मको सार्वजनिक फर्स्ट लुकमा मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी फिचर छन्। पोस्टरमा विपिन ‘योङ एण्ड ह्यान्डसम’ अवतारमा देखिएका छन्। चिटिक्क पारेर कोरेको कपाल, दारी र सर्टमा सजिएका विपिन गम्भीर मुद्रामा केही सोचिरहेको जस्तो देखिन्छन्।
पोस्टरमा अभिनेत्री केकी अधिकारीलाई विपिनको छाती (मुटु) मा स्थान दिइएको छ, जहाँ उनीहरू सँगै खाना खाइरहेको देखिन्छ। यो दृश्यले उनीहरू विगतका पुराना दिनहरू सम्झिरहेको भान हुन्छ। पोस्टर हेर्दा फिल्म पारिवारिक प्रेमकथामा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ।
फिल्ममा विपिन र केकीका अलावा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहाडी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बालकलाकार दीक्षिता अर्याललगायतको अभिनय रहेको छ।
यो फिल्ममार्फत निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन्। यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’ र ‘कायरा’ जस्ता फिल्म निर्देशन गरेका रिजालले आफूले खोजेजस्तो स्क्रिप्ट पाएकाले ‘काजी’ मार्फत निर्देशनमा ‘कमब्याक’ गरेको बताए। उनले यसबीचमा ‘डिसेम्बर फल्स’ र ‘गणपति’ जस्ता फिल्म निर्माण गरेका थिए।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र कालीप्रसाद बास्कोटाको संगीत रहेको छ। फिल्मको सम्पादन विपिन मल्लले गरेका छन् भने बनिश शाह सम्पादन सुपरभाइजर हुन्।
फिल्मको अन्य प्राविधिक पक्षमा ओजस्वी ओझा (प्रोडक्सन डिजाइनर), श्याम कुँवर (रंग संयोजक), सागर अर्याल (साउन्ड डिजाइन), सुजिल कर्माचार्य (ब्याकग्राउन्ड स्कोर), रोनाल्ड श्रेष्ठ (क्रिएटिभ हेड) र कविराज गहतराज (नृत्य निर्देशक) रहेका छन्। असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा नेहान रिजाल र विकास राज जोशी निर्माता रहेका छन्। फिल्मको वितरण श्रीराम बालाजी फिल्म्सले गर्नेछ।








