उच्च शोका साथ हलमा ‘पशुपति प्रसाद २ : भष्मे डन’

फिल्म । गत फूलपाती अर्थात् कात्तिक ४ गतेबाट प्रदर्शन गरिएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । फिल्मले पहिलो दिन नै दुई करोड ४० लाखको ग्रस कलेक्सन नेपालबाट गरेको निर्माण पक्षले जानकारी गराएका छन् । पहिलो दिनकै रफ्तारमा दर्शक फिल्म हेर्न हल पुग्नुभएपछि दर्शक शो संख्या बढिरहेको छ । निर्माण पक्षका अनुसार फिल्मले दर्शकको राम्रो साथ पाएकै कारण उच्च शो संख्या कायम नै छ ।

काठमाडौंस्थित कमलपोखरीमा रहेको बिग मुभिजले दिउँसो १२ बजेबाट हल सञ्चालनमा ल्याउने गरि शो सार्वजनिक छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले दरबार सिनेम्याक्समा २ बजे र इटहरीको सिनेफिल्क्सले १२:३० बाट पहिलो शो खोलेको छ । अरु धेरै हलले २ बजेपछि मात्रै हल सञ्चालनमा ल्याउने गरी शो खोलेका छन् ।

काठमाडौं र मोफसलमा गरी दशैंको टीकाको दिन पनि फिल्म हलले ‘पशुपति प्रसाद २ : भष्मे डन’को लागि करिब १ सय ८० आसपासमा शो खोलेका छन् भने अझै शो बढ्न सक्ने छ । दर्शकको क्रेज देखेर नै हल सञ्चालकले टीकाको दिन पनि यति धेरै शो दिनुभएको होला निर्देशक दीपेन्द्र के खनालले बताए ।

फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । जसको प्रभाव हलमाा देखिएको छ । टीकापछि गाउँबाट काठमाडौं फर्किनेको संख्या बढ्ने भएकाले व्यापार अझै बढ्ने अनुमान निर्माण टिमको छ । ‘दर्शकबाट हामीले राम्रो साथ पाएका छौं, यसको लागि फिल्म हेरिसक्नु भएका सम्पुर्ण दर्शकलाई धन्यवाद । आगामी दिनमा पनि अझै धेरै साथ र सहयोगको अपेक्षा रहेको छ’, निर्माता खगेन्द्र लामिछानेले भने ।

निर्देशक खनालको निर्देशनमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।

कमेन्ट गर्नुहोस्