‘बोर्डमा विकल्प छ’

फिल्म । अभिनेता राजेश हमालले चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने आफ्नो इच्छा नभएको बताएका छन् । पछिल्लो समय उनको नाम पनि बोर्ड अध्यक्षका लागि अगाडी आएको थियो । बुझीए अनुसार प्रधानमन्त्री केपी ओलीले नै उनको नाम प्रस्ताव गरेका थिए । यद्दपी हमालले त्यहाँ अहिले नजाने बताएका थिए । आइतबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उनले बोर्डका सदस्यमध्येबाट कोही अध्यक्ष हुनुपर्ने तर्क गरे । उनले आफु अध्यक्षको दौडमा नरहेको प्रस्ट्याउदै स्वर्गीय केशव भट्टराईको योजनालाई मुर्तरुप दिन उनकै टिमको कसैलाई बोर्ड अध्यक्ष बनाउनु पर्नेमा उनले जोड दिए ।

‘हामीले यतिबेला भट्टराईजीको टिममा काम गर्ने कुनै सदस्यलाई अध्यक्ष बनाउदा हुन्छ , जसले उँहाको योजनालाई मुर्तरुप दिन सकोस’ हमालले भने ,’बाहिर जेसुकै हल्ला चले पनि बोर्डमा जान्छु भन्ने इच्छा मैले व्यक्त गरेको छैन। यद्दपी विकास बोर्डमा कुनै पदमा नरहे पनि फिल्मका गतिविधि, विकासक्रमबाट अछुत भएर बस्न भने सक्दिनँ ।’ तत्कालीन बाेर्ड अध्यक्ष केशवभट्टराईकाे निधनपछि चलचित्र विकास बाेर्डकाे अध्यक्ष पद खाली छ ।

अध्यक्ष पद खाली भएसँगै त्यहाँ पुग्न केहि फिल्मकर्मीले राम्रै कसरत समेत गरिरहेका छन् । यद्दपी हमालले यतिबेला आफुले त्यस्ता कुनै पदवी नलिने बताए । तर , उनले भविष्यमा राजनीतिमा आउँन सक्ने संकेत गरे । ‘मेरो अहिलेको चाहना राजनीति हैन तर भविष्यमा नआउने भन्ने चाही होइन’ उनले भने । राजनीतिज्ञले जनताको विश्वास गुमाउँदै गएपछि ‘अल्टरनेट’ खोजिनु स्वाभाविक रहेको उनले बताए ।

गत फागुन १ गतेबाट सुरु भएको निफमा हमालले ‘आत्म कथा’ सुनाएका थिए । आइतबार २ बजे राष्ट्रिय सभागृहमा आयोजित सेसनमा फिल्मकर्मीसँगै मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । हमालले आफ्नो फिल्मी यात्रासँगै परिवारसँगको सम्बन्ध र तात्कालिन फिल्म बन्ने प्रक्रियाको अनुभव पनि साटेका थिए ।

कमेन्ट गर्नुहोस्