फूलपातीबाट टिभीमा ‘समर लभ’

फिल्म । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थालेको छ । निर्देशक मुस्कान ढकालले फिल्म दसैंको अवसर पारेर फूलपातीबाट डिसहोम मार्फत् सार्वजनिक हुने जानकारी गराए । ढकालका अनुसार फिल्म डिसहोमको च्यानल नम्बर ८ मा हेर्न सकिनेछ ।

ह्लमा प्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउन लागेको हो । ढकालले दसैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जिवन्त राख्न टिभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए । ‘दसैंमा नेपाली फिल्म हेर्ने दर्शक परम्परा रही आएको छ । यो साल महामारीका कारण नयाँ फिल्म रिलिज हुन सकेका छैनन् । दसैं खल्लो नहोस् भनेर हामीले टिभीमै भए पनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने ।

दर्शकले २ सय २५ मा सपरिवार फिल्म हेर्न सक्नेछन् । डिसहोमको प्रदर्शनपछि फिल्म म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको पनि उनले जनाए । मुस्कानले फिल्म तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी गराएका छन् । सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको फिल्म गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो । फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ ।

यसमा अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको यो फिल्मको स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सह- निर्मातामा सोपन सरकार र मनोज बिक छन् ।

कमेन्ट गर्नुहोस्