‘अञ्जिला’ हेर्न हलमा दर्शकको भिडभाड

फिल्म । नेपाली महिला फुटवल राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ लाई दर्शकले रुचाएका छन् । होलीलाई लक्षित गर्दै गत फागुन २९ देखि प्रदर्शन भएको फिल्मले शनिवार नेपालभर दर्शकको साथ पाएको छ । फिल्म हेर्ने दर्शकले कप्तान सुब्बाको जीवनी देखेर भावुक भएको प्रतिक्रिया दिईरहेका छन् ।

काठमाडौँमा फिल्मले हाउसफुल व्यापार गरेपछि निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ, वितरक करण श्रेष्ठ लगायत हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए । देशभर दर्शकबाट आइरहेको प्रतिक्रियाले आफुसहित निर्माण समूह उत्साहित भएको निर्देशक चाम्सले बताए ।

उनले भने,’फिल्मले दर्शकको साथ पाएको छ, यो हाम्रो लागि सुखद खबर हो । यसको व्यापार भन्दा पनि धेरै दर्शकसम्म पुगोस् भन्ने हाम्रो उदेश्य हो । कप्तान सुब्बाले इलामदेखि काठमाडौँसम्म आउन गरेको सङ्घर्षले धेरैलाई प्रेरणा दिन्छ । यो फिल्म हेर्नेले आफ्नो सङ्घर्षलाई पर्दामा पाएकै कारण दर्शक रुनुभएको हो ।’

शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ ।

दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् । टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन्, जसले फिल्मको लोकप्रियतालाई बढाइरहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन् ।

राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर खेलाडी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ भन्ने अभियान समेत अगाडि बढाएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए ।

फिल्ममा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्