फिल्म । पछिल्लो समय हलमा दर्शक नआउँदा चिन्तित रहेका निर्माता तथा निर्देशकहरु गत शुक्रबार देखि प्रदर्शन भइरहेका फिल्म मार्फत खुसी छन् । झिँगेदाउ र सम्हालिन्छ कहिले मनमा दर्शक आएपछि निर्मातासँगै प्रदर्शक र वितरक पनि खुसी छन् । गत जेठमा प्रदर्शित फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ पश्चात दर्शक भिडभाड हलमा देखिएको छ । शुक्रवार ६०/६५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेका दुवै फिल्मले शनिवार भने ८०/९० प्रतिशत अकुपेन्सी पाए ।
हलमा दर्शक आएपछि दुवै फिल्मका कलाकारहरु प्रतिक्रिया लिन शनिवार दिनभर व्यस्त रहे । झिँगेदाउको निर्देशक ज्ञानेन्द्र देउजा ,कलाकारहरु केकी अधिकारी , आँचल शर्मा , मुकुन भुषाल र कुशल विष्ट हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । ‘झिँगेदाउ’लाई दर्शकहरुबाट मिलेको प्रतिक्रियाले अभिनेत्रीद्वय केकी र आँचल उत्साहित थिएँ । ‘दर्शकले फिल्मलाई रुचाउनु भएको छ । पारिवारिक फिल्म भएकाले परिवार नै हलमा भेटेका छौँ । फिल्म हेरेर मनोरंजनसँगै केहि संदेश पनि लिएका छौँ भन्ने प्रतिक्रिया पाएकी छु । दिनभर हल भिजिटमै थियौँ’ केकीले भनिन् ।
शनिवार नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको लबिम, छायाँ सेन्टर, सिभिल मलमा दुवै फिल्म दिउँसभर लगभग हाउसफुल थिए । बिग मुभिज, एफक्यूब, विएसआर, वान सिनेमाज् लगायतमा पनि दर्शकको उपस्थिति राम्रो थियो । मोफसलका मल्टीप्लेक्समा पनि अवस्था सुखद् रह्यो । सिंगलतर्फ पनि शनिवार देशभर दुवै फिल्म हेर्ने दर्शक उच्च थिए । बालाजुको अष्टनारायण हलमा ‘सम्हालिन्छ कहिले मन’का तीन कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन पुग्दा दर्शकहरुको ठूलो भीड देखिएको थियो । अष्टनारायणमा ‘झिँगेदाउ’ले पनि राम्रो व्यापार गरेको छ ।
दर्शकको उपस्थितिले डेब्यु ब्वाई सोनाम उत्साहित छन् । ‘निकै माया पाएको छु । यसले मलाइ आउँदो समयको यात्रा तय गर्न मदत गरेको छ । फिल्मसँगै मैले पाएको प्रतिक्रियाले उत्साहित छु’ सोनामले मिडियालाई प्रतिक्रिया दिएका छन् । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ मा दर्शकको उपस्थिति देखा वितरक र प्रदर्शक खुसी छन् । उनीहरु अब दर्शक हलमा आइरहने विश्वास व्यक्त गर्छन् । शुक्रवार र शनिवार दुवै फिल्मलाई कलाकारको स्टारडम, गीत-संगीत र ट्रेलरले दिलाएको हाइपले हलसम्म तानेको दर्शकलाई फिल्मको कन्टेन्टले तान्नेमा दुवै फिल्मका टिम विश्वस्त छन् ।
दर्शकको उपस्थितिले आफू सहित सम्पूर्ण फिल्मकर्मी उत्साहित रहेको वितरक करण श्रेष्ठले बताए । शुक्रबार र शनिवार दिनभर हल भिजिटमा रहेका करण नेपाली फिल्ममा दर्शकको उपस्थितिले उत्साहित बनाएको बताए । ‘नेपाली फिल्म हेर्न दर्शक आउनु भएको छ । खुसीको कुरा आउनु भएको दर्शकलाई फिल्म मन परेको छ । आउँदो दिनहरुमा पनि वर्ड अफ माउथले दर्शक आउनेमा विश्वस्त छु । मैले एउटा फिल्म वितरण गरिरहेको भएता पनि दुवै फिल्ममा आएको दर्शक र हलमा देखिएको भिडभाडले फिल्मकर्मीको रुपमा उत्साहित बनाएको छ’ श्रेष्ठले भने ।











