‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ विजेता सम्मानित

फिल्म । चीनको हुनान प्रान्तस्थित छाङ्सामा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ का उत्कृष्ट फिल्म, कलाकार तथा प्राविधिकलाई काठमाडौंमा आयोजित विशेष समारोहमा नगद पुरस्कारसहित सम्मान गरिएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित कार्यक्रममा चीनबाट आएको आठ सदस्यीय प्रतिनिधिमण्डल, नेपाली फिल्मकर्मी, निर्देशक, निर्माता, कलाकार, प्राविधिक तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार चीनका प्राध्यापक, फिल्म विज्ञ तथा फिल्म कलेजका विद्यार्थीको टोलीले डा. सिमोन किउको संयोजकत्वमा गरेको मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा छनोट गरिएको हो । उत्कृष्ट फिल्मको अवार्ड ‘एन्जिला’ ले जित्दै ४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । ‘तेल भिसा’ का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै २ हजार अमेरिकी डलर पुरस्कारबाट सम्मानित भए ।

यस्तै, ‘छक्का पञ्जा’ का दीपकराज गिरी उत्कृष्ट अभिनेता तथा ‘कबड्डी ४’ की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए । दुवैले जनही १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । प्राविधिकतर्फ ‘महाजात्रा’ का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाङ्कन र ‘हस्टेल ३’ का बनिष शाह तथा विकास दाहाल उत्कृष्ट सम्पादन विधामा सम्मानित भए । दुवै विधाका विजेतालाई पनि जनही १ हजार अमेरिकी डलर प्रदान गरिएको थियो ।

समारोहमा नेपाल-चीन फिल्म सहकार्यलाई सुदृढ बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई विशेष सम्मान गरिएको थियो । फेस्टिभलका मुख्य प्रायोजक तथा ग्वाङझाउ सिगुआङयुन टेक्नोलोजीका अध्यक्ष ली हानलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै, नेपाल-चीनबीच फिल्ममार्फत सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएको भन्दै चिनियाँ प्रतिनिधिमण्डलका सदस्यलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।

चिनियाँ टोलीले नेपाल फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसी र नेपालतर्फका फेस्टिभल अध्यक्ष करुण थापालाई नेपाल-चीन सांस्कृतिक सहकार्यमा पुर्‍याएको योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरेको थियो । फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सुले कला र फिल्मको कुनै भौगोलिक सीमा नहुने उल्लेख गर्दै नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपालतर्फका फेस्टिभल अध्यक्ष करुण थापाले यो पहल नेपाली फिल्मका लागि चिनियाँ हल र ओटीटी प्लेटफर्मसम्म पुग्ने ऐतिहासिक अवसर भएको बताए। बोर्ड अध्यक्ष दिनेश डीसीले पनि नेपाली फिल्मप्रति चीनमा देखिएको उत्साह सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा चिनियाँ बजारमा नेपाली फिल्मले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

समारोहमा चिनियाँ लगानीकर्ताले नेपाली फिल्ममा सह-उत्पादन (को–प्रोडक्सन) र लगानी गर्न गम्भीर रुचि देखाएका छन्। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट निर्माण हुने नेपाली फिल्मलाई चीनका प्रमुख ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन गर्ने विषयमा पनि सहकार्य अघि बढाउने सहमति भएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्