फिल्म । कोरोना भाइरसको महामारीले एकाएक सबै क्षेत्र ठप्प गर्यो । तुलनात्मक रुपमा असर मनोरंजन क्षेत्रमा पर्यो । बन्द हुँदा पहिले हुने र खुल्दा अन्तिममा खुल्ने क्षेत्रनै मनोरंजन बन्यो लकडाउनमा । यसले गर्दा पनि यो क्षेत्रलाई अगाडी आउन समय लाग्यो । तर , दर्शक फेरिए । फिल्म हेर्न समय निकालेर हलसम्म पुग्ने दर्शक आफ्नो समयानुकूल ओटीटीमा फिल्म हेर्ने भए । दर्शकको बानीसँगै टेस्ट पनि फेरियो । ओटीटीमा विश्वका फिल्म हेरेका दर्शकलाई परम्परागत फिल्महरु खल्लो लाग्न थाले । रोजाईमा नयाँ सोच र कन्टेन पर्न थाले । यसको उदाहरणकै रुपमा मनी हेइस्ट , स्क्विड गेम्स , कोटा फ्याक्ट्री इत्यादी । दर्शकको टेस्ट फेरिएसँगै लकडाउनका कारण तयार फिल्मलाई असर गर्यो । पुरानो शैली र फर्मुला रहेका फिल्महरु रोजाईमा परेनन् । फलत: अधिकाँस फिल्मले ‘फ्लप’ को ट्याग पाए ।
नेपालमा पनि दर्शकको टेस्ट फेरियो । लकडाउनको समयमा प्रयोग भएका ओटीटीका प्लेटफर्महरु वा सिफारिस भएका फिल्महरुले दर्शकको चेतनाको स्तर बढाउन सफल भए । फिल्म भन्दा वेब सिरिजमा पाइने कन्टेनमा दर्शक लोभिए । तर , ती सबै विदेशी थिए । नेपालमा रुचाइएक अधिकाँस सिरिजहरु विदेशी थिए । किनकी नेपालमा रहेको ओटीटीमा नत कन्टेन नै थिए नत दर्शक नै । लकडाउन पश्चात दसैँको बेला हल खुल्ने भएपछि नेपाली ठुला फिल्म रिलिज भएनन् ।
दर्शकले हेर्न चाहेको फिल्म रिलिज नहुनु नै नेपाली फिल्मका लागि दु:खद रह्यो । म यस्तो गीत गाउँछु २ , प्रेम गीत ३ र ए मेरो हजुर ४ रिलिज नहुँदा हलमा पुरानै फिल्म प्रदर्शन भए । ती फिल्म हेर्न हलसम्म दर्शक आएनन् । विदेशी फिल्म पनि ओटीटीमा आइसकेको हुँदा हलमा आएका फिल्महरुले खासै दर्शक पाएनन् । र , सबैको आँखा भारतीय फिल्म ‘सूर्यवंशी’ मा रह्यो । अक्षय कुमार अभिनित तथा रोहित शेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’ ले गर्ने व्यापार पश्चात मात्र फिल्म नेपाली फिल्म दर्शकसम्म पुर्याउने चाहनाले निर्माता त केहि मुनाफामा भए होलान् तर दर्शकले हिन्दी स्वाद बढी चाखे ।
सूर्यवंशी र त्यसलगतै आएको पुष्पाले दर्शकको मन जित्यो । फिल्मको डायलग र स्टाइललाई दर्शकले अपनाए । फलत: हलमा दर्शक आउछन भन्ने त भयो । तर , सँगै विदेशी फिल्मले दर्शकलाई स्वादमा राख्यो । लकडाउनमा विदेशी कन्टेनमा रमाएका दर्शकलाई हल खुल्ने वितिकै उपलब्ध विदेशी फिल्महरुले पारखी झैँ बनायो । त्यसपछिको अवस्था त अवगत नै छ । विदेशी फिल्मको परिक्षण अनुसार दर्शक हलसम्म आउने वा नआउने तय गर्नु नै नेपाली फिल्मका दर्शक केहि घटाउने मानक मान्न सकिन्छ । आधा शताब्दीको नेपाली फिल्मले इतिहासमा अहिले भोग्नु परेको संकट झट्टै आएको होइन् ।
यसका लागि हामी नबुझिँदो रुपमा पहिले देखि नै जिम्मेवार छौँ । संकटको प्रादुर्भाव भइसकेको र यसलाई ‘खतराको घण्टी’को रुपमा बुझ्नुपर्ने स्थिति आउनुमा बलिउड झैँ नेपाली फिल्म पनि कथित स्टारडम र क्लिसे कथालाई पछ्याउँदै अघि बढ्नु कारण रहेका छन् । दर्शकको चेतनाको स्तर बढ्दा पनि मेकिङ शैलीलाई ‘अपग्रेड’ गर्न नसक्नु नै नेपाली फिल्मका लागि ठुलो हानी देखिएको छ । विश्व फिल्म बजारमा साउथ इन्डियन फिल्महरु बाहुबली , केजीएफ , पुष्पा, आरआरआर मात्र चर्चामा छैनन् । मलयालम फिल्महरु दृश्यम र जलीकट्टु पनि चर्चामै छैन ।
छिमेकी मुलुक भुटानमा हाम्रै बजेटको हाराहारीमा निर्मित फिल्म ”लुनाना : अ याक इन द क्लास रुम’ ओस्कारसम्म पुग्यो । तर , नेपाली फिल्मको अधिकाँस संख्या पुरातनवादी शैलीमै निर्माण भइरहेकोमा गनियो । ओटीटीबाट हलसम्म आएका दर्शकले कन्टेनमा नयाँपन नपाएपछि समय र पैसा त्यसै खेर फाल्न चाहेनन् । हुन् त दर्शकको साथले नै यतिबेला साउथ इन्डियन फिल्महरु विश्वभर पुगिसकेका छन् ।
रोबर्ट , बाहुबली , केजिएफ बन्दा नभएको चर्चा यसको सिक्वेलमा भयो । फिल्मको बजेट पनि पाँच सय करोडको हाराहारीमा रह्यो । यो सब सम्भव हुनुको कारण दर्शकको साथ् र मेकर्सको इमान्दारिता नै हो । साउथ इन्डियन फिल्महरुले मेकिङ बढाएको धेरै भएको छैन । तर , कथ्य शैली , दृश्यभाषामा उनीहरुको मेहनत हालै गरिएको होइन । आफ्नो मौलिक भाषा बाहेक फिल्मी दर्शक रहेका भाषामा फिल्म ल्याउन सक्नुनै उनीहरुको सफलताको प्रमुख मानक हो । त्यसैले गर्दा अहिले साउथ इन्डियन फिल्महरुले बलिउडलाई ‘डोमिनेट’ गरेर विश्व फिल्मबजारमा आफ्नो छुटै स्थान बनाइसकेको छ ।
केहि समय अगाडी बलिउडका ठुला स्टार सलमान खानले ‘हाम्रो फिल्म किन साउथमा चल्दैनन् ?’ भनेर प्रश्न गर्नुले बलिउडको स्थान कहाँ छ भन्ने प्रस्ट्याईसकेको छ । नेपाली बजारको कुरा गर्ने हो भने ‘क्लिसे’ कथा , दृश्य भाषा , मेकिङ शैलीलाई दर्शकले ‘इगनोर’ गरिरहेका छन् । यसैवर्ष प्रदर्शन भएका फिल्महरुमा दर्शकको सुरुवाती उपस्थिति राम्रै भएको हो । तर , दर्शक निराश हुँदा त्यसको असर ठुलो समयसम्म नेपाली फिल्मले भोग्नु पर्ने हुन्छ ।
पछिल्लो समय प्रदर्शनमा आएको ‘चिसो एष्ट्रे’ फरक देखियो । यसमा चरित्र निभाउने अनुहारहरुले स्टारडमको ट्याग पाएका थिएनन् , दृश्य भाषामा नवीनता थियो । यद्दपी दर्शकले विश्वास गरिदिएनन् । फिल्मले पाएको ‘रिभ्यु’ लाई अन्य फिल्म झैँ सामान्य सोच्दाको परिणाम चिसो एष्ट्रेमा देखियो । नेपाली अधिकाँस फिल्मले प्रिमियरबाट पाउने रिभ्यु र दर्शक हल पुगेर फिल्म हेर्दा बन्ने धारणा फरक हुँदाको असर अहिले फिल्ममा देखिन थालेको छ । अब कि दर्शक इनिसियल मानसिकताको आधारमा हलमा पुग्ने योजनामा छन् । कि विश्वासिलो साथीको रिभ्यु पाएपछि । अब दर्शक ‘फिल्म राम्रो छ’ भन्ने सुनेकै भरमा हलसम्म पुग्ने वाला छैनन् ।
पछिल्लो वर्ष यता चिनियाँ भिडियो साझेदारी एप टिकटकको प्रभुत्व नेपालमा दमदार देखियो । गीतलाई ब्लकबस्टर बनाउने वा फ्लप, यसको सूचक टिकटक बन्यो । यहाँ देखिने नेपाली फिल्मका कलाकार र उनले गर्ने अभिनयले दर्शक त तानिए । कलाकारहरुले पाउने भ्युज र फ्लोअर्स बढे तर त्यो सोसल मिडियामा मात्र । त्यो हलसम्म आइदिने बनेनन् । टिकटकमा अभिनय देखाईरहने कलाकारहरुको कलाकारिता त्यहिँ हेर्न चाहे दर्शकले । यस्तै विविध कारण छन् , जसले लोकप्रियतालाई सस्तो बनायो ।
यसको असर फिल्ममा प्रारम्भिक रुपमा देखिन थालेको छ । आउँदो वर्षमा कथ्य शैलीसँगै फिल्म हेर्न हलसम्म आइपुगेका दर्शकलाई रिझाउन नसक्ने हो भने ती पनि गुम्ने डर छ । कोरोना भाइरसको कारण विश्व बजारमा रोकिएका फिल्महरु आउने केहिसमयसम्म दर्शक माँझ आइरहने छन् । नेपाली बजारमा भारतीय फिल्म अन्तर्गत बलिउड र साउथ इन्डिया बनेका फिल्महरु र हलिउडका फिल्महरु असर गर्नेछन् । यी हलमा आउने फिल्महरुसँगै ओटीटीमा सहजै आफ्नो समयानुकूल हेर्न पाइने कन्टेन पनि अवरोध बन्नेछ । यी सबसँगको प्रतिष्पर्धा सहजै भने छैन । ओटीटीमा कन्टेन ल्याउन लगानी र प्रविधिले अप्ठ्यारो बनाएको छ । तर , हलमा आइरहेका फिल्म र त्यसमा हुने लगानीमै ‘राम्रो’ फिल्म ल्याउने दायित्व फिल्म मेकर्समा छ ।
कलाकारहरुले पनि आफूले लिने पारिश्रमिकको दायित्व बोध गर्नु पर्ने आवश्यकता भइसकेको छ । बजारले धान्नै नसक्ने पारिश्रमिकले निर्माताको लगानी त बढाएको छ नै फिल्म प्रति दर्शकको विश्वनीयता पनि घट्दो छ । मेकर्सले फिल्मको कथा र मेकिङ भन्दा ‘स्टारडम’ बढी लगानी गर्दाको ‘साइडइफेक्टस्’ अहिले नेपाली फिल्म देखिएको आभाष हुने गरेको छ । तसर्थ , आउँदो वर्षको चुनौतीलाई सामना गर्न स्टारडमसँगै कथा चाहिन्छ । फिल्ममा फाइनान्सर भन्दा पनि प्रोड्युसर चाहिन्छ । र , अन्तर्वार्तामा गफ लगाउने भन्दा दर्शकलाई लठ्याउने फिल्म तयार गर्ने निर्मातासँगै निर्देशक चाहिन्छ । अपनत्व बोध हुने कथा चाहिन्छ ।
‘क्लिसे’ कथा र शैली पनि नेपाली बजारमा हाबी नभएका होइनन् । स्पाइडर म्यानको नो वे होम , पुष्पा , आरआरआरमा देखिएकै कथा थिए तर त्यहाँ देखाउने शैलीमा नवीनता थियो । भव्य शैलीका बीच अपनत्व बोध गराउन सफल हुँदा ती फिल्महरु दर्शकका प्रिय बने । यो उदाहरण पनि नेपाली बजारमा छ । तर , यसलाई अपनाउन सक्ने कठिनाई पनि उत्तिकै छ । त्यसैले हामीले आफ्नो कथालाई खोज्नु मात्र होइन , रुचीकर किसिमले तयार पारेर पस्किनु पनि जरुरी छ ।










