लकडाउनले असर नपर्ने अनमोल

फिल्म । कोराना भाइरस (कोभिड १९) ले महामारीको रूप लिएपछि चैत्र १० देखि सरकारले ‘लकडाउन’ गरिरहेको छ । एक मानिसबाट अर्को मानिसमा यो रोग सर्ने भएकाले विश्वका अधिकांस देशले ‘लकडाउन’ गरेर सामाजिक दुरी कायम गरिरहेका छन् । जो जहाँ छन् , त्यहिँ बसिरहेका छन् । यसले फिल्मको सुटिङ, रेकर्डिङदेखि पोस्ट प्रोडक्सनसम्मका सबै काम ठप्प भएका छन् । ज्यादा समय घरबाहिर बिताउने सेलिब्रिटी ‘लकडाउन’ भएदेखि घरमै छन् ।

यो समयलाई उनीहरूले विभिन्न तरिकाले सदुपयोग गरिरहेका छन्। सामाजिक सञ्जाल नियाल्दा केही कलाकारले यो समयलाई शारीरिक अभ्यासका लागि सदुपयोग गरिरहेका छन् त केहीले खाना बनाउनमा । टिकटक बनाएर समय कटाउने सेलिब्रिटीको संख्या पनि उल्लेख्य छ । तर, यो लकडाउनले दिनचर्यामा खासै असर नगर्ने सेलिब्रिटी पनि थुप्रै छन्। तिनको प्रतिनिधित्व कलाकार अनमोल केसीले गर्छन् । उनी उद्योगमा ‘घरेलु प्राणी’ भनेर चिनिन्छन् । सरकारले भनेझैँ ‘अति जरुरी काममा बाहेक बाहिर ननिस्कने’। सुटिङ भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ कोरोनाका कारण बीचैमा रोकिएपछि अनमोल सरकारले लकडाउन गर्नुुअघि नै घरभित्र ‘लक्ड’ भइसकेका थिए । त्यसैले उनको दिनचर्यामा खासै भिन्नता छैन।

‘म अरू बेला पनि हम्मेसि बाहिर निस्कन्नँ। त्यसैले लकडाउनमा पनि मेरो दिनचर्या पहिलेजस्तै छ,‘ अनमोलले भने, ‘फिल्म र म्युजिक मेरो दैनिक जीवनका अंग हुन्। कि फिल्म हेर्छु, कि गीत सुन्छु। गिटार पनि बजाउँछु। आजभोलि कोको (अनमोलको कुकुर)सँग पनि केही बेर खेल्छु।’ उनले यही समयमा फिल्म ‘पारस’को स्क्रिप्ट पढिरहेको पनि सुनाए । ‘अफर आएका फिल्मका केही स्क्रिप्ट पढ्न बाँकी थिए,’ उनले भने, ‘अहिले पढिरहेको छु ।’

यता पुत्रलाई लकडाउनले खासै असर नगरे पनि पिता तथा अभिनेता भुवन केसीलाई भने दिन कटाउनै मुस्किल भइरहेको छ । ‘पारस’को प्री–प्रोडक्सनमा व्यस्त भुवनले लकडाउनको समय साउथ इन्डियन फिल्म हेरेर कटाइरहेको बताए। ‘बोरै भा छ नि,’ उनले दिक्दारीको स्वरमा भने, ‘बाहिर कहीँ निस्कन पाएको छैन। निस्कनु पनि भएन। त्यही ‘पारस’को स्क्रिप्ट पढिरहेको छु। अनि, बाँकी समय साउथका फिल्म हे¥यो, बस्यो।’ (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्