
फिल्म । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘घरज्वाइँ’ले शनिबार बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । शुक्रबार बिहानी शोमा पानीले केही हदसम्म असर गरेपनि दिउँसोबाट दर्शकको चाँप बढेको फिल्म शनिबार बिहानी शोबाटै आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले दाबि गरे । उनले दिएको जानकारी अनुसार शनिबारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो, भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी रह्यो ।
‘शुक्रबार दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले शनिबारका लागि शो थप्यो । फिल्म दर्शकलाई मन पर्यो’, वितरक कट्टेलले भने । शनिबार बिहानैबाट काठमाडौं उपत्यका र मोफसलका ठुला शहर पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, विर्तामोड, बुटवल, दाङ, नेपालगञ्जका हलमा दर्शकको चाप देखिएको निर्माता जनक घर्ती मगरले बताए । साथै, शुक्रबार र शनिबार दर्शकको राम्रो साथ पाएपछि हलले आइतबारका लागि अधिकांश शनिबारका शोलाई नै यथावत राखेका छन् ।
दर्शकको राम्रो साथ मिलेपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले दर्शकलाई धन्यवाद दिएका छन् । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको भन्दै भोली आइतबारबाट पनि दर्शकको यस्तै साथ आवश्यकता रहेको उल्लेख गरेका छन् । डेव्यु निर्देशक अनिल बुढा मगरले पनि आफ्नो पहिलो पाइलामा नै दर्शकको यो लेवलको साथ र सहयोग मिल्दा आगामी दिनमा अझ उत्कृष्ट सिनेमा निर्माण गर्नु पर्ने चुनौती थपिएको बताएका छन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।
जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक मगरसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।