फिल्म । निर्माणको चरणमा रहेको फिल्म ‘महाराजधिराज’मा अभिनेत्री पूजा शर्माको इन्ट्री भएको छ । निर्माण पक्षले उनलाई फिल्मको अनुबन्ध गरेको हो ।पिरियड ड्रामाको झल्को दिने यो फिल्म यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा रहेको छ ।
परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा पूजासँगै पुष्प खड्का, केकी अधिकारी, नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ ।
निर्देशक सेनको ड्रिम प्रोजेक्टका रूपमा रहेको ‘महाराजधिराज’मा अन्य करिब ८० जना कलाकार रहने जनाइएको छ । पुराना र नयाँ पुस्ताका कलाकारको मिश्रण प्रस्तुत गर्न फिल्म टिमले बलियो स्टारकास्ट तयार पारेको हो । फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा छायांकन गरिनेछ । फिल्मको छायांकन नवराज थापाले गर्नेछन् ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।










