फिल्म । गणेशदेव पाण्डेको निर्देशनमा बनेको नेपाली फिल्म ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख पात्रहरूलाई क्रमशः उनीहरूको लुक्स र चरित्रसहित प्रस्तुत गरिएको छ, जसले फिल्म ग्याङ्स्टर जनरामा निर्माण भएको स्पष्ट पार्छ । टिजरमा कलाकारहरूको प्रभावशाली अभिनय, महेश पौडेलको जीवन्त छायाङ्कन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र र्यापर भ्योमाको गीतले आकर्षक संयोजन प्रस्तुत गरेको छ ।
लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोले’ केवल एउटा ग्याङ्स्टर फिल्म मात्र होइन, यो युवाहरू, उनीहरूको परिवार, जीवनका सङ्घर्षहरू र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने विभिन्न परिस्थितिको कथा हो ।
बुटवलका वास्तविक स्थानहरूमा छायाङ्कन गरिएको यस फिल्मले त्यहाँको यथार्थपरक वातावरणलाई समेट्दै दर्शकलाई स्थानीय अनुभूति दिने लक्ष्य राखेको छ । फिल्मका पात्रहरू बुटवलकै वास्तविक मानिसहरू र उनीहरूको भोगाइबाट प्रेरित छन् । उनीहरूको भाषा, बोलीचालीदेखि शारीरिक हाउभाउसम्म वास्तविक जीवनका घटना र अनुभवबाट लिइएको छ, जसले कथालाई अझ विश्वसनीय बनाएको निर्माण पक्षको दाबी छ ।
पर्दामा पात्रहरूलाई यथार्थपरक देखाउन निर्माण टोलीले लामो तयारी गरेको थियो । करिब एक हजार कलाकारको अडिसनबाट उपयुक्त कलाकार छनोट गरिएको हो । पात्रहरूमा जीवन्तता ल्याउन करिब छ महिनाको अभिनय कार्यशाला र एक महिनाको एक्सन कार्यशाला सम्पन्न गरेपछि मात्र फिल्मको छायाङ्कन सुरु गरिएको थियो ।
ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस फिल्ममा मनीषा अधिकारी सह-निर्माताका रूपमा रहेकी छन् । फिल्ममा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।
यसैगरी, फिल्ममा एनबी महर्जनको एक्सन निर्देशन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले तयार पारेका छन् ।










