फिल्म । अगस्ट १० गते बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’का लागि गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् । ‘ओनेस्ट रियल इस्टेट’द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’द्वारा व्यवस्थित यो यात्राको सम्पूर्ण तयारी पूरा भएको र कार्यक्रम भव्य बनाउन कुनै कसर बाँकी नराखिएको थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ ।
यो साङ्गीतिक यात्रा अगस्ट १० गते बाल्टिमोरबाट सुरु भई अगस्ट १५ गते बोस्टन, अगस्ट १६ गते ब्रान्फोर्ड, अगस्ट २४ गते फिलाडेल्फिया, अगस्ट २९ गते ह्यारिसबर्ग, अगस्ट ३० गते न्युयोर्क, अगस्ट ३१ गते पिट्स्बर्ग, सेप्टेम्बर ५ गते चार्लोट, सेप्टेम्बर ७ गते मिल्वौकी, सेप्टेम्बर १३ गते नेब्रास्का, सेप्टेम्बर २० गते सेन्ट लुइस, सेप्टेम्बर २७ गते डालास, सेप्टेम्बर २८ गते ओक्लाहोमा सिटी (ओकेसी) लगायत २० भन्दा बढी शहरहरूमा आयोजना हुनेछ ।
‘सोलफुल यु.एस.ए यात्रा’ घोषणापश्चात् दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको र अमेरिकामा रहेका नेपाली समुदायमाझ प्रस्तुति दिन पाउँदा आफूहरू हर्षित भएको गायक महेश काफ्लेले बताए। महेश र अस्मिताका ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू निकै लोकप्रिय छन् ।











