यसकारण बन्यो ‘मर्दानी ३’

फिल्म । भारतीय अभिनेत्री रानी मुखर्जीले ‘मर्दानी’ शृङ्खलामार्फत समाजप्रतिको जिम्मेवारी र भावनात्मक उद्देश्यलाई निरन्तर अघि बढाइरहेको बताएकी छिन् । फिल्मको प्रचारका लागि आयोजित एक अन्तरक्रियामा रानीले आगामी फिल्म ‘मर्दानी ३’ को मूल सन्देशबारे बताइन ।

उनले भनिन्, ‘महिलामाथि हुने अपराध गर्नेहरूप्रति कडा सन्देश दिन र महिलालाई आत्मबल प्रदान गर्ने उद्देश्यले फिल्मको निर्माण गरिएको हो । सबैभन्दा पहिले त केटाहरू डराउनुपर्छ । उनीहरू यति डराउनुपर्छ कि यस्तो अपराध गर्ने सोचसमेत नगरून् । उनीहरूका लागि कथाको अन्त्य त्यहीँ हुनुपर्छ ।’

फिल्मको मुख्य उद्देश्य अपराध नियन्त्रण र अपराधी मानसिकता प्रति डर सिर्जना गर्नु रहेको उनको भनाइ थियो ।साथै, महिलाका लागि फिल्मले दिने भावनात्मक प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण रहेको रानीले उल्लेख गरिन् ।

‘केटीहरू फिल्म हेरेर डराएर होइन, आशा, आत्मबल, शक्ति र निर्भीकतासहित बाहिर निस्कनुपर्छ । ‘मर्दानी ३’ बाट मैले चाहेको सबैभन्दा ठूलो सन्देश यही हो’, उनले भनिन् ।

रानीले प्रहरी अधिकृत शिवानी शिवाजी रोयको भूमिका निर्वाह गर्दै आएको ‘मर्दानी’ शृङ्खलाले महिलामाथि हुने अपराधलाई यथार्थपरक र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको छ । ‘मर्दानी ३’ ले पनि यही परम्परालाई अझ सशक्त रूपमा निरन्तरता दिने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्