‘पार्वती’मा फरक भूमिका निर्वाह गरेकी छु : नीता

फिल्म । अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाले आगामी फिल्म ‘पार्वती’ मा आफ्नो करिअरकै सबैभन्दा फरक अभिनय गरेको बताएकी छन् । उनका अनुसार फिल्ममा आफूले निर्वाह गरेको भूमिका दर्शकका लागि विशेष सरप्राइज हुनेछ ।

‘मैले फिल्ममा अटिजम भएकी युवतीको भूमिका निभाएकी छु । एक अटिजम भएका पात्रको भावभङ्गी, हाउभाउ र भाइप्रतिको निष्कलङ्क मायालाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेकी छु,’ उनले भनिन् । पात्रलाई जीवन्त रूपमा प्रस्तुत गर्नु नै एक कलाकारको पहिचान भएको उल्लेख गर्दै उनले ‘पार्वती’मार्फत दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।

हालै सार्वजनिक भएको फिल्मको टिजरमा नीताको अभिनयको प्रशंसा भइरहेको छ । टिजरले फिल्मप्रति दर्शकको उत्सुकता पनि बढाएको छ। ‘पार्वती’को निर्माण तथा निर्देशन दुवै नीता ढुङ्गानाले गरेकी हुन्। यसअघि उनले ‘ह्रस्वदीर्घ’ निर्माण गरेकी थिइन् ।

भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा नीता ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

शिवम् अधिकारीको स्क्रिप्ट रहेको फिल्ममा सुदीप बराल डीओपी छन् भने नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्। शंकर पाण्डे कार्यकारी निर्माता र हरिहर अधिकारी निर्माता रहेको फिल्ममा दीपक शर्मा, बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। फिल्मलाई एफडी कम्पनी, एप्पल इन्टरटेन्मेन्ट र रिच इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।

कमेन्ट गर्नुहोस्