फिल्म । आउँदो चैत २९ देखि प्रदर्शन हुने फिल्म ‘पिताम्बर’ मल्टीस्टारर छ । महिला निर्देशक र एक्सन विधाको फिल्म साथमा चिनिएका धेरै अनुहार । दर्शकले यतिधेरै कलाकारलाई धेरैसमयपछि एकसाथ देखिरहेका छन् । ‘लूट’,’मुखौटा’ लगायतका फिल्मपछि यस किसिमका चिनिएका अनुहार एकसाथ फिल्ममा आएका हुन् ।
अभिनेता दायाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया लगायतका कलाकार फिल्म ‘पिताम्बर’ मा छन् । सोही कारण यसको चर्चा बढ्नुका साथै दर्शक माँझ प्रतिक्षित बनेको छ । यी कलाकारलाई एउटा फिल्ममा कल्पना गर्नु आफैँमा ठूलो चुनौती हो । तर, कृषाले त्यो आट गरेकी छिन् ।
‘स्क्रीप्ट तयार गरेपछि जसरी हामीले कलाकारल़िया फिल्म अफर गर्यौं, उहाँहरूले स्वीकार गर्नुभयो । हाम्रो सोच, मेहनत र लगनशीलताले सायद उहाँहरू उत्साहित हुनुभयो । उहाँहरू पनि आफू देखिएको भन्दा फरक भूमिकामा देख्न आतुर हुनुहुन्थ्यो, त्यहि भएर हाम्रो फिल्म स्टारले भरिभराउ हुन् पुग्यो’, निर्देशक चौलागाईंले आट गरिन् ।
उनले फिल्मको रिलिजसम्म पनि उल्लेखित कुनै कलाकारले गुनासो गरेको नसुनिएकाले आफूले मेकिङ राम्रै गरेको बुझेकी छिन् । यद्यपि सबै स्टार कलाकार भएको र सबै व्यस्त हुँदा आफूलाई एउटा च्यालेन्ज भएको उनले बताइन् । सुटिङमा कलाकारलाई बोलाउँदा पात्रको नामबाट बोलाउने गरेको उनी बताउँछिन्, जसले आफूलाई सजिलो भएको उनको धारणा छ ।

कृषाको निर्देशकीय पहिलो फिल्म ‘ऐँचो पैँचो’ थियो । जुन गत वर्ष रिलिज भएको थियो । उनी ‘पिताम्बर’लाई भरपुर एक्सन फिल्म भन्छिन् । पछिल्लो समय एक्सन फिल्म कम आएकाले दर्शकका लागि यो फिल्म नौलो स्वाद हुने उनको बुझाइ छ । फिल्म मास दर्शकलाई ध्यानमा राखेर निर्माण गरिएको उनको भनाइ छ ।
फिल्ममा दिव्या रायमाझी, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको समेत अभिनय छ । फिल्म दुई सेड्युल गरेर ७० दिनमा खिचिएको हो । केपी फिल्म्स्ले पुरुषोत्तम प्रधान फिल्म्स्सँग सहकार्य गरेर निर्माण गरेको ‘पिताम्बर’का निर्माता विशाल चौलागाई हुन् ।