हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर बिहीबार अलफ्ट होटलमा

देश । केहि समय यता मर्जरको चर्चामा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुने तयारी अन्तिम चरणमा पुगेको छ । दुइ बैंकबीच एलफ्ट होटलमा मर्जरका लागि बिहीबार दिउँसो औपचारिक सम्झौता हुने भएको छ । सम्झौता कार्यक्रममा दुबै बैंकका अध्यक्ष प्रत्यक्ष रुपमा सहभागी हुनेछन् भने बाँकी पदाधिकारीहरु अनलाइनबाट सहभागी हुने छन् ।

मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ। मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोर गरिने छ । हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने छ । यसो हुँदा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको आधारभूत तलब बढ्ने छ ।

मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डे हुने छन् । ज्योति पाण्डेलाई केही स्पष्ट अधिकारसहित डेपुटी प्रमुख कार्यकारी बनाइने छ। अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने छन् । त्यसपछि सेयर संरचनाका हिसाबले बाँकी सञ्चालक छानिने छन् । यसमा आधा हिमालयन र आधा इन्भेष्टमेन्टबाट ल्याउने प्रयास हुने छ । मर्जरपछि नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ हुने छ। दुई ठूला बैंक मर्जर भएपछि निक्षेप, कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो बैंक हुने छ ।

कमेन्ट गर्नुहोस्