चलचित्र पत्रकारिता पुरस्कार घिमिरेलाई

देश । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको मकवानपुर शाखाद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ । घिमिरे तीन दशकदेखि चलचित्र पत्रकारिताको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

‘मेरो कामको मुल्यांकन गर्दै गरिएको सम्मानले झनै उर्जा मिलेको छ । आगामी दिनमा अझै सक्रियताका साथ काम गर्नेछु’, घिमिरेले भने । यस्तै सङ्घले पत्रकार पोष्टराज अधिकारीलाई पनि चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । उहाँ पनि दुई दशकदेखि चलचित्र पत्रकारिता गर्दै आउनुभएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

यसैगरी, सोही समारोहमा चलचित्रकर्मी सम्मानबाट कलाकार सुलेमान शङ्कर ‘इकु’लाई सम्मानित गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको सो समारोहमा हेटाँैडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले पुरस्कार प्रदान गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्