‘सामाजिक दुरीले नै कोरोनालाई जित्न सकिन्छ’ (राष्ट्रपति सम्बोधन पूर्णपाठ)

फाइल फोटो
देश । गत शुक्रबार साँझ साढे सात बजे शुक्रबार साँझ साढे सात बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट कोरोना भाइरस रोकथामलगायत विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीलाई सम्बोधन गरेकी छन् । सम्बोधनको क्रममा राष्ट्रपति भण्डारीले नेपाली जनताले सामाजिक दुरी कायम गरेर नै कोरोना भाइरस विरुद्धको लडाईमा यो स्थितिमा रहेकोमा जोड दिनु भयो । पछिल्लो अवस्थाले समस्या पनि परिरहेको अवगत गर्दै नेपालीलाई यो कोरोना भाइरसलाई आन्तरिक रुपमा फैलिन नदिन सामाजिक दुरी कायम गर्न अनुरोध पनि गर्नु भयो । ‘हामी कहाँ आन्तरिक रुपमा कोरोना भाइरस फैलिएको छैन । त्यसैले सामाजिक दुरीले अझै कम हुन् सक्छ । पहिलो चरणमा विदेशबाट आएकामा देखिएको भाइरसको उपचारमा हामी लागिरहेका छौ’ राष्ट्रपति भण्डारीले भन्नु भयो । यस्तो छ राष्ट्रपतिको सन्देशको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ,  आज मानव जातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ।  संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन।  यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन।  बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था हो।  सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन।  यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्दछ।  हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु।  जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको छ।  लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएका छन्।  तर पनि सबैले आफ्नो मात्र होइन, आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनका बेलामा संयमित भएर घर बाहिर निस्कनु हुँदैन।  आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ।  हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक छ।  पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ।  यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्‍याएको छ।  यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ।  यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणा समेत गरिसकेको छ।  यस विश्वव्यापी महामारीको समयमा संसारका विभिन्न मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली नागरिकहरूलाई आ–आफ्नो ठाउँमा आवश्यक सकर्तकतासहित सुरक्षित रहन आव्हान गर्दछु।  नेपालीहरू जो जहाँ हुनुहुन्छ यथास्थानमा रहेर कोरोना विरुद्धको लडाईँलाई सफल पार्न योगदान गर्नुहुनेछ भन्ने समेत अपेक्षा लिएको छु।  विभिन्न देशमा रहनु भएका नेपालीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि म सबै मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्दछु।  साथै कोरोना भाइरसका विरुद्धमा जुध्न विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई धन्यवाद दिन चाहन्छु।  रोग लाग्नै नदिनु हाम्रो प्रमुख प्राथमिकता भएतापनि रोग लागेको खण्डमा विरामीहरूको उपचारको तयारीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकायहरू र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबै नै अहोरात्र खटिरहनु भएको छ।  यसका लागि सम्बन्धीत सबैको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।  यस्तो महामारीको बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीहरू लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको धैर्यताको उच्च सम्मान गर्दछु।  तपाईँहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ।  यतिबेला हाम्रो आकाश निर्मल र निलो देखिएको छ।  तर नोवल कोरोनाभाइरसका कारण सिङ्गो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ।  कोरोना भाइरस बिरुद्धको यस लडाइमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु।  कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।  यस महामारी विरुद्धको लडाइँमा आ–आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थाहरूलाई हार्दिक आह्वान गर्दछु।  अन्तमा, सम्पूर्ण राष्ट्र एकजुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि अवश्य विजय हासिल गर्न सकिनेछ भन्ने विश्वास सहित तपाईँहरू सबैको सुस्वास्थ्यको कामना गर्दछु। धन्यवाद। २०७६ साल चैत्र २१ गते शुक्रबार
कमेन्ट गर्नुहोस्