मलेसियासँग श्रम सम्झौता , थपियो नेपाली कामदारलाई सुविधा

File Photo
देश । नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । केहि समय यता नेपाली कामदार मलेसिया जानबाट बन्चित थिए । नेपाली कामदारको गन्तव्य बन्ने गरेको मलेसियामा कामदार लैजाने सम्बन्धमा श्रम मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् साथै कामदारलाई लेभी पनि लाग्ने छैन । कामदारको तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ भने मलेसिया जाने कामदारको करार अवधि भने ३ वर्षबाट दुई वर्ष कायम गरिएको छ । कामदार विमानस्थलमा पुगेको ६ घन्टाभित्र गन्तव्य स्थलमा लैजानुपर्ने छ । कामदार र रोजगारदाताबीच कुनै विवाद भई मुद्धा विचाराधीन रहेसम्म मलेसियामा नै बस्न पाइनेछ भने कामदारका परिवारका निकटतम (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा १५ दिनका लागि नेपाल आउने पाउने गरि सम्झौतामा हस्ताक्षर गरिएको मन्त्रालयले जनाएको छ । रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूताबासलाई जानकारी गराउनुपर्नेछ भने मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने गरी व्यवस्था गरिएको छ ।
कमेन्ट गर्नुहोस्